काठमाडौं-गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक यही असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुने बताउनुभएको छ।
बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो। गृहमन्त्री लेखकले विधेयक छिटो पारित गर्नुपर्ने र अड्काएर राख्न नहुने बताउनु भयो। सरकार सबै विषयमा कन्टेनहरुमा छलफल गर्न तयार रहेको बताउनु भयो।
समितिले छोटो समयमा छलफल गरेर नागरिकता सम्बन्धी विधेयक समितिबाट टुंगोमा पुर्याएको बताउँदै १४ गते प्रतिनिधि सभाबाट पारित गर्ने बताउनु भयो। सम्भव भए नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक पनि असार महिनाभित्रै समितिबाट पारित गरेर सदनमा पेश गर्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो।
गृहमन्त्री लेखकले भन्नुभयो, ‘विधेयक चाँडो गरौँ । सरकार सबै विषयमा कन्टेनहरुमा छलफल गर्न तयार छ। छिटो छलफल गरेर यसलाई टुंग्याऔँ। यो भन्दा पहिला हाम्रो मन्त्रालयबाट नेपाल नागरिकता ऐन संशोधनको विषय आयो। त्यसमा पनि यही निवेदन गरेको थिएँ। चाँडो टुंग्याइदिऔँ भनेर। समितिले छोटो समयमा छलफल गरेर यो विधेयक यो समितिबाट टुंगोमा पुगेको छ । मैले पाएको जानकारीअनुसार १४ गते सम्मानित प्रतिनिधि सभामा पेश हुँदैछ। त्यसलाई १४ गते पास गर्छौं। चाँडो भन्दा चाँडो नागरिकताको विषयलाई पनि टुंग्याऔँ। यदी सम्भव हुन्छ भने यो महिनाभित्र यो विधेयकलाई पनि टुंगो लगाऔँ।’
समितिमा आज नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल शुरु भएको हो । गृहमन्त्री लेखकले प्रहरी यो विधेयक सरकारको प्राथमिकतामा रहेको बताउनु भयो।
प्रतिक्रिया