काठमाडौं-सूचना प्रविधिको विकाससँगै दिनानुदिन भइरहेका परिवर्तनहरूमा समाहित हुँदै अगाडि बढिरहेको क्षेत्र हो बैंकिङ्ग क्षेत्र। पछिल्लो समय नियो बैंकिङ्ग, ओपन बैंकिङ्ग जस्ता अवधारणाले यस क्षेत्रमा भएको परिवर्तनलाई थप पुष्टि गर्छ। यसरी बैंकिङ्ग क्षेत्र डिजिटल बैंकिङ्गमा रूपान्तरण भइरहँदा २०४१ सालमा निजी क्षेत्रबाट स्थापना भएको पहिलो वाणिज्य बैंक नबिल बैंकको योगदान र उपस्थितिलाई नकार्न सकिँदैन।
यो बैंक नेपालकै पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो। जसले सरकारी क्षेत्रको एकाधिकार तोड्दै प्रतिस्पर्धात्मक वित्तीय प्रणालीको थालनी गर्यो। जतिबेला राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंकले ढड्डामार्फत काम गरिरहेको थिए। सरकारी बैंकमा टोकन लिएर दुई/तीन घण्टासम्म लाइनमा उभिनुपर्ने बाध्यता रहेका बेला नबिलले सेवा सहज बनाउन ‘युनिट टेलर सिस्टम’ सुरु गरेको थियो। जहाँबाट पाँच वटा काम एकै ठाउँबाट गर्न थालेपछि ग्राहकको आकर्षण बढ्दै गयो। पछि बिस्तारै आधुनिक प्रविधि भित्र्याएर नयाँपन दिन सुरु गरेको थियो।
नेपालमा आधुनिक बैंकिङ्ग सेवाको आवश्यकता तीव्र रूपमा महसुस भइरहेको समयमा स्थापना कालदेखि नै यस बैंकले पुर्याएको योगदानले आधुनिक बैंकिङ्ग सेवामा महत्त्वपूर्ण हिस्सा ओगट्यो। जसको परिणाम स्वरूप बैंकिङ्ग क्षेत्रमा नयाँ प्रविधि र अभ्यास गर्ने रूपमा बैंकले स्थान बनाएको छ। यो बैंक नेपालकै पहिलो निजी क्षेत्रको वाणिज्यिक बैंक थियो, जसले सरकारी क्षेत्रको एकाधिकार तोड्दै प्रतिस्पर्धात्मक वित्तीय प्रणालीको थालनी गर्यो।

नबिल बैंकले आफ्नो स्थापना कालदेखि नै नेपालमा बैंकिङ्ग सेवामा प्रविधिमैत्री सुधार गरेको छ। बैंकले पहिलो पटक सन् १९९४ मा एटिएम सेवा सुरु गरेको थियो। त्यसपछि सन् २०१२ मा मोबाइल बैंकिङ्ग र सन् २०१४ मा क्रेडिट कार्ड सेवा सुरु गर्यो। सन् २०१६ मा कन्ट्याकलेस पेमेन्ट कार्ड र सन् २०२२ मा एन बैंक सुरुवात गरी नेपालमा पहिलो पटक नियो बैंकिङ्ग सेवा प्रदान गरेको छ।
सुरुमा विदेशी मुद्रा, विनिमय, रेमिट्यान्स र अन्तर्राष्ट्रिय व्यापार वित्तीय सेवाहरूमा विशेष ध्यान दिएको नबिलले केही वर्षपछि आफ्नो सेवा क्षेत्रलाई विस्तार गर्दै विभिन्न शाखाहरू खोलेको थियो। बैंकले एटिएम सेवा, अनलाइन बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, क्रेडिट कार्ड, डेबिट कार्ड लगायतका आधुनिक सेवाहरू पनि प्रदान गरेको छ।
जसकारण, बैंकले आफ्नो उत्कृष्ट सेवा र योगदानका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानहरू प्राप्त गरेको छ। बैंकले आफ्नो गुणस्तर, सेवा, नवप्रवर्तन र सामाजिक उत्तरदायित्वका कारण प्रतिष्ठित पुरस्कारहरू जित्दै आएको छ। नबिल बैंकले लगानीकर्तालाई उच्च प्रतिफलका साथै सेवाग्राहीलाई उत्कृष्ट सेवा दिँदै आएको छ।
बैंकिङ्ग क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभवसँगै उच्च समर्पित रहेको नबिल बैंकले देशभर ३०० बढी शाखा र २६९ एटिएममार्फत सेवा प्रदान गरिरहेको छ । नेपालको सबैभन्दा ठुलो बैंकको रूपमा स्थापित नबिल बैंकले फराकिलो नेटवर्कमार्फत उच्च सेवा प्रदान गर्दै लगानीकर्ता, सेवाग्राहीको मन जितिरहेको छ।
प्रतिक्रिया