अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हुम्लाका पाँच स्थानीय तहले ल्याए बजेट, दुई स्थानीय तह छलफलमै

हुम्लाका पाँच स्थानीय तहले ल्याए बजेट, दुई स्थानीय तह छलफलमै


हुम्ला-सबै स्थानीय तहले असार १० गते बजेट ल्याउनु पर्ने व्यवस्थाअनुसार हुम्लाका पाँच गाउँपालिकाले बजेट ल्याएका छन्।

हुम्लाको सदमुकाम सिमकोटले रु. ६४ करोड ३६ लाख ७० हजार २०३ को अनुमानित बजेट ल्याएको छ। पुँजीगततर्फ रु.२४ करोड आठ लाख ६९ हजार छ भने चालुतर्फ रु. ४० करोड २८ लाख एक हजार २०३ रहेको छ।

क्षेत्रगत रुपमा ल्याएको उक्त बजेटमा आर्थिक विकासमा रु.२४ करोड आठ लाख ६९ हजार बजेट विनियोजन गरिएको छ भने सामाजिक विकासमा रु.एक करोड नौ लाख ५० हजार, पुर्वाधार विकासमा रु.१९ करोड ४६ लाख ६९ हजार, वन वातावरण र विपद्मा रु.१७ लाख ८० हजार तथा सुशासन एवं सङ्गठनमा रु.७० लाख ३१ हजार विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताउनुभयो।

नाम्खा गाउँपालिकाले पनि मंगलबार नै बजेट ल्याएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताउनुभयो। उहाँका अनुसार पालिकाले रु.३७ करोड ६८ लाख ५० हजारको बजेट सभाबाट पारित गरेको बताउनुभयो।

यस्तै खार्पुनाथ गाउँपालिकाले रु.४७ करोड ६४ हजार ४९९ को बजेट गाउँसभाबाट पारित गरेको छ। कुल बजेटमा पुँजीगततर्फ रु.१९ करोड ८१ लाख पाँच हजार २६१ रहेको छ भने चालुतर्फ रु.२७ करोड ८३ लाख ६४ हजार ४४९ रहेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताउनुभयो।

सर्केगाड गाउँपालिकाले आगामी वर्षका लागि रु.५६ करोड ८३ लाख २९ हजार ६९२ बराबरको बजेट ल्याएको छ। त्यसमा चालुअन्तर्गत रु.३७ करोड ३३ लाख ७० हजार ६९२ र पुँजीगतअन्तर्गत रु १९ करोड ४९ लाख ५९ हजार विनियोजन गरिएको हो। यसमा कृषि उत्पादन वृद्धि, युवा स्वरोजगार, शिक्षा स्तरोन्नति, विपद् व्यवस्थापन तथा सडक पहुँच विस्तारमा प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले बताउनुभयो।

यस्तै ताँजाकोट गाउँपालिकामामा आगामी आर्थिक वर्षका लागि रु.३६ करोड १५ लाख ९२ हजार ९२५ को बजेट पेस भएको छ। गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापाले गाउँसभामा चालुतर्फ रु.१८ करोड २३ लाख ९३ हजार ९२५ र पुँजीगत रु.१७ करोड ९१ लाख ९९ हजार विनियोज गरिएका पेस गर्नुभएको छ। आज सभामा पेस गरिएको भए पनि भोलीदेखि निरन्तर गाउँसभाका सदस्यहरुको रायपश्चात् पारित गर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत समिक्षा अधिकारीले बताउनुभयो।

आज सभामा पेस गरेको नीति तथा कार्यक्रम पास भएको भए पनि आगामी आवको बजेट गाउँसभामा पेस भएको बताउँदै गाउँसभामा पेस गरिएको अनुमानित बजेटमा पुर्वाधार, शिक्षा र स्वास्थ्यलाई विशेष जोड दिँदै शिक्षामा रु.दुई करोड ५० लाख, स्वास्थ्यमा रु.५० लाख र पूर्वाधार विकासमा रु दुई करोड विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनुभयो।

गाउँपालिकाले नयाँ कार्यक्रमको रुपमा दलित बस्ती उत्थान कार्यक्रममा सात वर्षका लागि रु.३५ लाख विनियोजन गरेको छ भने स्थानीय पूर्वाधार कार्यक्रम र गाउँपालिकाको सहलगानिमा हुने कार्यक्रमका लागि रु दुई करोड दुई लाख विनियोजन गरिएको उहाँले बताउनुभयो।

जिल्लाको तल्लो क्षेत्रमा रहेका अदानचुली गाउँपालिका र चङ्खेली गाउँपालिका बजेटको छलफलमै व्यस्त रहेका छन्। बजेट मङ्गलबार नै ल्याउने तयारी गरिएको भए पनि कार्यपालिकामा सहमति नजुट्दा बजेट ल्याउन नसकिएको बताइएको छ।

Skip This