बलिदानी इतिहास बोकेको २०३६ सालको छिन्ताङ विद्रोहको वृत्तचित्र “छिन्ताङ आँसुमा विश्वास गर्दैन” बनाइसकेका जसकुमार राईमा इतिहास उत्खननको धित अझै मरेको रहेनछ। त्यसैले अमेरिकाबाट छोटो समयका लागि नेपाल आउँदा उनले केही महिनाअघि छिन्ताङको फेरो मार्न भ्याए। केही जिउँदा शहीदहरूलाई भेटे।
सञ्चारकर्मी गोपाल दाहाललाई समेत साथमा लिएर उनी पुगेछन्, छिन्ताङ विद्रोहका साक्षी धनकुटाका पुराना वामपन्थी नेता गोपाल गुरागाईँको घरमा पनि। गोपाल सरसँगको कुराकानीका क्रममा जसकुमारले कुनै एक सानो प्रसङ्गमा मेरो नाम पनि लिएछन्। गोपाल सरले भन्नुभएछ, ‘ती भाइहरू भएकैले हामी यतिका भएका हौँ। उनीहरू हाम्रा आँखा हुन्, त्यसैले हामीले देख्न सक्यौँ, उनीहरू हाम्रा गोडा हुन्, त्यसैले हामीले यहाँसम्मको यात्रा गर्यौँ। उनीहरू हाम्रा हातहरू हुन्, त्यसैले हामीले यतिको काम गर्न सक्यौँ ।‘
गोपाल सरको भनाई अनुसार छिन्ताङ विद्रोह भइरहेको समयका धनकुटा नगरका हामी केही केटाकेटीहरूले पनि उहाँहरूलाई सहयोग गरेका रहेछौँ। उहाँको भनाइमा हामी केटाकेटीहरू त्यो समयको “बाल रेड गार्ड” रे ।
त्यो समय दाजुहरूले “यसो गर् उसो गर्” भन्थे । उनीहरूले जे जिम्मेवारी दिए, त्यो निभाइयो । तर देशमा परिवर्तन हुन्छ र मैले पनि यसका लागि भूमिका निभाउनुपर्छ भन्ने चेतनाको विकास भइसकेको भए पो सबै कुराको थाहा पत्तो पाउनु ? तर त्यो समयको सक्रिय नेताले नै म लगायतका केटाकेटीहरूले गरेको कामको मूल्य वोध गरिरहेको पत्तो पाउँदा मनमा अलिकति भए पनि सन्चो पसेको छ ।
भाइ जसकुमारबाट गोपाल सरले गर्नु भएको हाम्रो मूल्य वोधले सुटुक्क कानलाई स्पर्श गरेपछि त्यो समयको सम्झनाका केही प्रतिबिम्ब आँखाभरि सिनेमामय बन्न पुग्यो । यतिखेर म एक जना पाहुनाको प्रसङ्गलाई लिएर सम्झनाको पोखरीमा बल्छी खेलिरहेछु ।
हाम्रो घरमा अटुट पाहुना
त्यो बेला धनकुटा नगरको भोटे चौताराको हाम्रो घरमा हामीले अटुट रूपमा पाहुनाहरूको स्वागत गर्नुपर्थ्यो। हाम्रो घरमा आउने पाहुनाहरू दुई खालका हुन्थे । उनीहरूमध्ये आफैं पकाएर खाने अनि आफै सुत्ने व्यवस्था गर्नेलाई हामी “परदेशी” भन्थ्यौँ। तर जसका लागि गाँस र बासको व्यवस्था हामीले मिलाउनुपर्ने हो, उनीहरूलाई हामी “पाहुना” भन्थ्यौँ । तर हाम्रो घर न होटल थियो, न त गेस्टहाउस। हामी त्यो बेलाको मूलबाटोको बासिन्दा भएकाले घरमा बास बस्न आउनेलाई आश्रय दिने वा सहयोग गर्ने मात्र गथ्र्यौ । अहिले सम्झँदा लाग्छ, त्यस बेला हामीसँग अलिकति लगानी गर्ने रुपैयाँ र बुद्धि हुँदो हो त हामी राम्रै होटल वा लज व्यवसायी हुने थिएछौँ। पाप गर्यौँ कि धर्म थाहा भएन, तर हामीले आगन्तुकहरूलाई सकेको सेवा गर्न भने छाडेनौँ।
भोजपुरको केही भाग, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङबाट तराई झर्नेहरू र तराईबाट पहाड उक्लनेहरू हाम्रो टोलमा बास बस्नुपर्दा प्रायः हाम्रै घरमा बास बस्थे। यसरी बास बस्नेहरू कोही परदेशी हुन्थे त, कोही पाहुना। आगन्तुकहरूको सेवा गरेबापत हाम्रो घरले कुनै शुल्क तोकेको थिएन, गच्छेअनुसार दिन्थे र जान्थे। फेरि फेरि फर्केर आउँथे, हाम्रै घरमा बास बस्न।
हाम्रो पुर्ख्यौली घर ताप्लेजुङ हाङपाङ हुनुको एक कारण पनि हुन सक्छ, पाहुनाको यस्तो लर्को लाग्नुको कारण।
यसरी पाहुनाहरू कति आए, कति गए।
जब धरानबाट धनकुटा बजार हुँदै हिले बजार, सिधुवा र वसन्तपुरतिर मोटर बाटो तन्कियो, त्यसपछि पछि पैदल हिँड्नुपर्ने बाध्यताबाट पनि हाम्रो घरका आगन्तुकहरूले मुक्ति पाए। हाम्रो आँगन बिरानो भयो।
पाहुना नहुँदाको न्यास्रो
पाहुनाहरुको स्वागत गर्ने बानी परेछ, हाम्रो घरलाई। कुनै बेला पाहुना नआएको बेला असाध्यै न्यास्रो लाग्थ्यो।
हाम्रो घरमा बास बस्न आउने पाहुनाहरुको आगमन नभएको धेरै भइसकेको थियो। सप्तरङ्गी इन्द्रधनुषी सपना बोकेर काठमाडौं सहर पसेको म आफै एक दिन आफ्नै घरको पाहुना हुन पुगेको थिएँ।
कुरा पर्यो, आजभन्दा १३ वर्षअघिको।
सिक्किमका लिम्बूहरुले सिक्किम सरकारका तत्कालीन मुख्यमन्त्री पवन चाम्लिङको हातबाट नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन कुलपति वैरागी काइँलाको सम्मान गर्ने कार्यक्रममा एक सञ्चारकर्मीको नाताले म पनि काइँलाका साथ सिक्किम पुगेको थिएँ। सिक्किमबाट काठमाडौं फर्कदा आफ्नो घरमा नपस्ने कुरै भएन। वृद्धावस्थाकी आमालाई भेट्न र केही दिन घरमा बिताउन धरानबाट म धनकुटा उक्लिएँ। आफ्नै घरको पाहुना हुन पुगेको थिएँ म। घर सुनसान थियो। आमा भान्सामा व्यस्त भइरहेकै बेला एक जना भोजपुरतिरका पुराना भाँडा व्यापारी बाँडा दाई हाम्रो घरमा आइपुगे। घरमा देउता आइपुगेको जस्तै लाग्यो। घरमा मेरो लागि लोकल कुखुराको झोल भकभकी उम्लिदै थियो।
अब ती बाँडा दाइसँग गफिदै आमाको हातको मीठो खाइन्छ भन्ने विचार गर्दै थिएँ। म एकछिन ती बाँडा दाईको नजरबाट ओझेलिएको मात्र केही थिएँ, ती बाँडा दाई सुटुक्क हिँडिहालेछन्। कुनै बेला त्यत्रो पाहुना लाग्ने घर सुनसान हुँदा चसक्क मन दुख्यो । लुकेर आँसु पुछेँ । केही बेरपछि मेरै निम्तोमा भाषा क्याम्पसका तत्कालिन प्रमुख मेरा मित्र तिलविक्रम चेम्जोङको आगमनपछि मात्र मैले पाहुनाको न्यास्रोपन मेटेँ।
सुटुक्क आउने जानेहरु
फेरि पुरानै कथातिर फर्कौं।
यस्ता आगन्तुकहरुमध्ये केही पाहुनाका रुपमा यस्ता आगन्तुक आउँथे, जो कतिखेर आउँथे, हाम्रो घरलाई थाहा हुँदैनथ्यो। कतिखेर जान्थे त्यो पनि हामीलाई थाहा नहुने। आउँथे, कोठाभित्र दैलो थुनेर बस्थे, के के लेख्थे। कोठामा बसेर सानो स्वरमा गुनगुनाउँथे। खाना खान बोलाइन्थ्यो, खान आउँथे। केही दिन बस्थे। मेरा दाई पुस्तासँग ढोका थुनेर छलफल गर्थे। अनि सुटुक्क बाटो लाग्थे।
त्यस्ता पाहुना नआएको बेला घरमा गाना बजाना चल्थ्यो । उनीहरुले गाउने गीतलाई “जनवादी गीत” भनिन्थ्यो।
एक जना गहिरो आँखा भएका प्रायः खैरो रङको सर्ट लगाएर आउने पाहुनालाई केही पटक हाम्रो घरमा आएको देखेँ। उनी बसेको कोठामा म बेलाबेलामा पुगिरहन्थे। निक्कै पछि अर्थात् बहुदल आएपछि पत्ता लगाएँ, उनी रमेश खनाल रहेछन्, धरान विजयपुर बासिन्दा। म पाँच वर्षजति धरान बसेँ, तर उनीसँग मेरो भेट हुने अवसर जुरेन। सायद मैले नै खोजिनँ। पछि काठमाडौंमा उनका छोरासँग बासुदेव ढुङ्गेल दाईले भेट गराए।
खैरो सर्ट लगाउनेपछि प्रायः निलो सर्ट लगाउने पाहुना हाम्रो घरमा आउन थाले। उनी हाम्रो घरमा धेरैपटक आए। उनको बानी थियो, कि पढिरहने, कि लेखिरहने । पाहुना बसेको कोठामा म फुत्त फुत्त पुगिरहन्थेँ। चुलबुले थिएँ, म। लेख्दाखेरि मसिनो अक्षरमा लेख्ने । अक्षर त म चिन्थेँ, तर भेउ पाउदिथेँ, के लेखेका होलान् ? लेख्दा एउटा हातमा कलम चलिरहेको हुन्थ्यो, अर्को हातका औंलाले च्यापेको बिँडिको धुँवा निस्किरहेको हुन्थ्यो।
कहिलेकाहिँ चिया पकाएर खुवाउने जिम्मा मेरै हुन्थ्यो, ती पाहुनालाई। हाम्रो घरमा चिया पिउने चलन नभएको र चिनी पनि नहुने भएकोले कालो चियामा नून हालेर दिनुपर्ने। त्यसमाथि मोटरबाटो थिएन, धरानबाट ब्यापारीले भरिया लगाएर ल्याएको महङ्गो चिनी किन्ने हैसियत नै कहाँ थियो र हामीसँग ? स्टील वा सिसाका गिलास थिएनन् हाम्रो घरमा। त्यसैले काँसको कच्यौरामा चिया पुर्याइदिन्थँे, कहिलेकाहिँ ।
हाम्रो दुई घरमध्ये मूलघरमा नभई अर्को घरमा यस्ता पाहुनालाई दाईहरुले राख्थे। त्यो घरलाई हामी “नयाँघर” भन्थ्यौँ। त्यस्ता पाहुनाको बास हुने त्यो घरमा एउटा माटोको हिटरको ब्यवस्था पनि गरिएको थियो। पाहुनाहरुलाई तातोपानी पिउन सजिलो होस भनेर यस्तो ब्यवस्था गरिएको थियो भन्ने लाग्छ, अहिले। त्यो हिटर चलाउँदा म पहिलोपटक करेन्टबाट नराम्ररी झस्केको छु।
यसरी आउन त धेरै आए, पाहुनाको रुपमा हाम्रो घरमा। तर यो प्रसङ्गमा म उनै प्रायः निलो सर्ट लगाएर आउने, बिँडि तान्दै, मसिनो स्वरमा गुनगुनाउँदै लेखिरहने पाहुनामाथि केन्द्रीत भइरहेको छु।
नुहाउन जाँदा जङ्गलको बाटो
ती पाहुना सरसफाईमा निक्कै सचेत । टोलको सार्वजनिक धारामा सरसफाई गर्न पनि नहुने। मेरा दाजु डम्बरबाट म माथि आएको जिम्मेवारी अनुसार मैले पाहुनालाई नुहाउन अलि पर एकान्तमा लैजानुपर्ने।
बुवाले हामी सन्तानका लागि धनकुटा नगरमा जोडिदिएको जग्गा ती ठाउँमा छन्, जहाँ पहिले बाहै«मास कुवामा पानी हुन्थ्यो। बुवा भन्थे,“मैले धनकुटामा जग्गा जोड्न खोज्दा धेरैले धेरै ठाउँ देखाए। तर जुन जग्गामा कुवा हुन्छ, त्यहीँ ठाउँ मैले रोजेँ।”
पानीको स्रोत जहाँ हुन्छ, बुवाले पनि त्यहीँ ठाउँमा जग्गा जोडे। बुबाले धनकुटा नगरमा दुई ठाउँमा जग्गा जोडे, दुवै ठाउँमा कुवा थियो। नजिकैको गैरीबारीको कुवामा म ती पाहुनालाई नुहाईधुवाईका लागि लैजान्थेँ। पाहुना मलाई भन्थे,“कान्छाले पनि नुहाउनुपर्छ है !”
अनि म पनि पाहुनासँगै नुहाउँथेँ ।
मेरा यी सम्झनाहरु ०३७/३८ सालका हुन्।
पार्टीका जिम्मेवार नेता
यसरी बारम्बार गोप्य रुपमा हाम्रो घरमा पाहुना बनेर आउने ब्यक्ति त तत्कालिन नेकपा(माले)का जिम्मेवार नेता पो रहेछन्। मैले यो जानकारी २०४४ सालतिर मात्रै थाहा पाएँ।
विभिन्न ठाउँमा नाम परिवर्तन गर्दै हिड्नुपर्ने भूमिगत नेताहरुको त्यो बाध्यतामा उनी कहिले “गगन”, कहिले “दिलिप” र कहिले “सागर” भएर पार्टीको काममा हिड्दा रहेछन्। उनको खास नाम चाहिँ चित्र निरौला रहेछ।
त्यो बेला उनी धनकुटा मालेको सचिव रहेछन् । पहिले इलाम, त्यसपछि धनकुटा र फेरि इलामको सचिवको जिम्मेवारी उनको काँधमा थियो। २०३७ र २०३८ सालमा उनी हाम्रो घरको गोप्य पाहुना बनेर आएको समय उहाँ धनकुटाको तत्कालिन पार्टी सचिव रहेछन्। उनले नै यो कुराको पुष्टि गरेका हुन् चार वर्षअघि फेसबुक संवादमा मसँग।
उनीजस्तै हाम्रो घरमा मदन भण्डारी, अशोक राई, राजेश बान्तवा पनि धेरै पटक पाहुना भएर आएकाछन्, भूमिगत रुपमा।
धनकुटासँगको साइनो
त्यो बेला धनकुटा पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम भएकोले एक महत्वपूर्ण जिल्ला छँदै थियो । प्रशासनिक सुरक्षाका कडा बन्दोवस्त हुन्थ्यो । उसै पनि सूर्यबहादुर थापाले चुनावमा एकलौटी जित्दै आएको जिल्ला ।
उनले किन धनकुटा रोजे, मैले उनलाई सोध्न भ्याइनँ । तर उनले छिन्ताङ हत्याकाण्डपछि धनकुटाको पार्टीको नेतृत्व सम्हाले, यो त स्पष्ट छ। छिन्ताङ विद्रोहका समय त्यहाँ रहेर आन्दोलनको उत्प्रेरक भूमिका निर्वाह गर्ने नेताहरु भने बम देवान, यमनाथ बराल र गोविन्द विकल हुन्।
धनकुटासँग चित्र निरौलाको साइनो शिक्षण पेशासँग पनि जोडियो । उनले डाँडाबजारको भानु माध्यमिक विद्यालयमा अङ्ग्रेजी शिक्षकका रुपमा २०३१ सालतिरै प्रवेश गरेका थिए। यसको चार पाँच वर्षअघि महेन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको उपसभापतिमा उनी निर्वाचित हुँदा सभापति चाहिँ धनकुटा, तेलियाका हिम्मतसिंह खजुम थिए। भानु मावि उहाँ अङ्ग्रेजी शिक्षक हुँदा त्यहाँ कृष्ण ब्लोन प्रधानाध्यापक थिए। कृष्ण ब्लोनका काहिँला भाई रेख ब्लोन २०३५ सालदेखिनै बाम आन्दोलनमा सक्रिय भएर देखा परेका थिए। यस्तो भूमिगत नेताहरुलाई हाम्रो घरमा दिइएको आश्रयस्थलको ब्यवस्थापन उनै रेख ब्लोन र मेरा दाजु डम्बरले गर्थे।
निरौला हाम्रो घरमा पाहुना भई आएको बेला गोपाल गुरागाईँको पनि आगमन भइरहन्थ्यो। यी दुई त्यतिखेर धनकुटाका ठूला जिम्मेवार नेता रहेछन्।
“तपाईं धेरै पटक हाम्रो घरमा बास बस्नुभएको छ नि”, एक दिन मैले फेसबुक संवादमा निरौलासँग एक दिन भनेँ।
“धनकुटाको पनि मलाई धेरै ऋण छ”, उनले विनम्रता पस्किए।
पञ्चायतकालमै उनी बिकिसकेका रे, रानीको नजिक पुगे रे भन्ने पनि सुनेँ । हो, होइन यो तथ्य पत्ता लगाउनतिर लागिनँ । तर उनी समाजकल्याण परिषदमा जागिर खान गएको चाहिँ प्रष्ट भयो।
एकदिन धरान नगरपालिकामा उनै तत्कालिन भूमिगत नेतासँग भेट भयो। हार्दिकतापूर्वक नमस्कार गरेँ। मैले त चिनिहाले, उनले चिन्नसक्ने अवस्था थिएन। त्यो बेलाको बालक म जवान भइसकेको थिएँ। भनेँ, “म फलानोको भाई हुँ, तपाईं त हाम्रो घरमा आइरहनुहुन्थ्यो नि !”
हामी यसरी बोलिरहेको बेला पत्रकार भवानी बरालको त्यहीँ आगमन भयो । आफ्नै शैलीअनुसार भवानी दाई प्रस्तुत भए,“तपाईंले उहाँलाई रातै देखेको होला, उहाँ त उहिल्यै पहेलोँ भइसक्नुभयो।”
रातो अर्थात् क्रान्तिकारी, पहेँलो अर्थात् निर्दलीय पञ्चायती ब्यवस्थाका समर्थक।
चित्र निरौलाले त्यो बेला विनयशील भावमा भने, “होइन, म रातै छु।”
रातो वा पहेँलो को हो ? त्यो त सबैले देखेकै होलान् । “रातो झन्डा समूह”लाई तत्कालिन मालेमा मिलाउने चित्र निरौलाको बारेमा यो लेखकको मूल्याङ्कन चाहिँ के हो भने माले पार्टी छाडे पनि त्यो पार्टीको अहितमा बोल्ने, लेख्ने र सङ्गठन गरिहिड्ने गरेको काम चाहिँ उनले कहिल्यै गरेनन्।
त्यो समयको कालरात्रीलाई चिर्न ज्यान हत्केलामा राखेर हिड्ने चित्र निरौला हामीमाझ रहेनन्। उनको गुमनाम निधन भयो। क्यान्सरसँग सङ्घर्षरत उनले दुई वर्षअघि मात्रै भौतिक देह त्याग गरे। उनी यो संसारमा नरहे पनि पञ्चायतकालमा बामपन्थी आन्दोलनमा उनले बगाएको पसिना महत्त्वपूर्ण छ।
यस्ता नेतालाई भूमिगतकालमा हाम्रो घरले गच्छेअनुसारको सेवा गर्यो। २०३८ सालमा ठूलै सांस्कृतिक कार्यक्रम गरेर तत्कालिन प्रगतिशील लेखक कलाकार संघ, धनकुटाको अध्यक्ष चुनिएको भोलीपल्टै मेरो दाजु डम्बरको सरकारी जागिर खोसियो। यदि उनको जागिर नखोसिएको भए मेरो एसएलसीसम्मको पढाई सायद त्यति कष्टकर हुने थिएन।
तर हाम्रो घरले पार्टीसँग आजसम्म केही पनि मागेन । केही माग्नेवाला पनि छैनौँ हामी। तर यति मात्रै भन्छौँ, इतिहासलाई नबिर्स
वर्तमान सपारेर भविष्य उन्नत बनाउने हो भने इतिहासको सम्झना गर्नैपर्छ। जसरी तीरलाई जति टाढा पुर्याउने हो, त्यति नै धनुलाई पछाडी खिच्नुपर्छ।
प्रतिक्रिया