अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकारले संसद् र नागरिकलाई हेप्यो, ढाँट्यो: गगन थापा

वर्तमान सरकारले संसद् र नागरिकलाई हेप्यो, ढाँट्यो: गगन थापा


रौतहट-नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले संसद् र नागरिक दुवैलाई हेपेको आरोप लगाएका छन्।

प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ का मतदातासँग भेटघाट गर्न जाने क्रममा रौतहटको चन्द्रनिगाहपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति थापाले यस्तो टिप्पणी गरेका हुन्।

सरकारले संवैधानिक परिषद्सहित ५ अध्यादेश ल्याएको सन्दर्भमा सभापति थापाले नागरिकलाई हेप्ने र ढाँट्ने काम गरेको आरोप लगाए।

सभापति थापाले आफ्नै बहुमत भएको संसदप्रति सरकारको विश्वास नरहेको आलोचन गरे । ‘सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ,’ सभापति थापाले भने, ‘संसद्को मिति तोकेर आह्वान भइसकेको अवस्थामा फेरि कुनै सूचना नदिई बैठक स्थगित गरिनुले सरकारको गैरजिम्मेवारीपन प्रष्ट पार्छ।’

संसद् छलेर अध्यादेश ल्याउने सरकारको तयारीप्रति लक्षित गर्दै सभापति थापाले नागरिकलाई केही जानकारी दिनु नपर्ने प्रवृत्तिको आलोचना गरे। सांसदहरूकै अनुरोधमा बैठक स्थगित गरिएको भनेर भ्रामक प्रचार गरिएको भन्दै सभापति थापाले यसलाई ‘सरासर ढाँटेको र हेपेको’ संज्ञा दिए।

संवैधानिक परिषद्को बनोटका विषयमा चर्चा गर्दै सभापति थापाले विगतका प्रधानमन्त्रीहरूले जस्तै अहिले पनि आफू अनुकूल चलखेल गर्ने काम जारी रहेको बताए। ‘हामी सुधारको पक्षमा छौं र संवैधानिक निकायको नियुक्तिमा व्यापक परिवर्तन गर्ने पक्षमा थियौं,’ उनले भने, ‘तर प्रतिपक्षसँग कुनै छलफल नगरी एकलौटी ढंगले अघि बढ्न खोजिएको छ।’

शासकीय सुधारका काममा सरकारलाई सहयोग गर्न तयार रहे पनि सदन र अन्य दललाई पेलेर जाने प्रवृत्ति विरुद्ध कांग्रेस चुप नबस्ने उनको चेतावनी थियो। गत फागुनमा सम्पन्न निर्वाचनमा सर्लाही–४ बाट पराजित भएपछि थापा पहिलो पटक मतदातालाई धन्यवाद दिन र स्थानीय अवस्था बुझ्न सर्लाही गएका हुन्। उनले आज दिनभर सर्लाहीका विभिन्न स्थानमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम रहेको छ ।