काठमाडौं- सरकारले निजामती कर्मचारीको अवकाश उमेर ६० वर्ष पुर्याउन प्रस्ताव गरेको छ ।
सरकारले आज सार्वजनिक गरेको निजामती सेवा विधेयकको प्रस्तावित मस्यौदामा उमेर हद ६० वर्ष पुर्याउने उल्लेख छ । यस अघि कर्मचारीको उमेर हद ५८ वर्ष कायम गरिएको थियो । विधेयकमा प्रस्ताव गरिएका ४८ बुँदा मध्ये १५ औं बुँदामा उमेर हद ६० वर्ष पुर्याउने उल्लेख छ ।
यसैगरी दुर्गम भौगोलिक क्षेत्र र प्रमुख प्रशासकीय अधिकृत पद रहेका स्थानमा नगएमा बढुवाको सम्भाव्य उम्मेद्वार हुनै नसक्ने व्यवस्था पनि गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदेशगत रुपमा मुख्यमन्त्री कार्यलयमा पठाइने र त्यहाँबाट स्थानीय तहमा खटाइने पनि विधेयकमा उल्लेख गरिएको छ । प्रस्तावित विधेयकमा सेवावबाट राजिनामा दिएमा वा अनिवार्य अवकास भएको अवश्थामा पनि अन्य नियुक्तीमा जानका लागि कम्तीमा दुई वर्षको कुलिङ पिरियडको प्रस्ताव गरिएको छ ।
विधेयकमा कर्मचारीलाई राजनीतिक दलसँगको आवद्धतालाई कडाइ गरिएको छ । विधेयकको ४८ औं बुँदामा राजनीतिक दलको सदस्यता लिएमा पनि सेवामा भविष्यमा पनि अयोग्य हुने गरी बर्खास्त गरिने व्यवस्था गरिएको छ ।
‘राजनीतिक दल,राजनीतिक दलको भातृ संगठन,जनवर्गीय संगठन वा राजनीतिक दलसँग आवद्ध संगठनको सदस्यता लिएमा,राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेद्वार बनेमा भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गरिने’ विधेयकमा उल्लेख गरिएको छ ।
विधेयकमा थप सुझाव सल्लाह दिनका लागि विधेयक सार्वजनिक गरिएको सरकारले जनाएको छ ।







प्रतिक्रिया