अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हुम्लाको खार्पुनाथमा बेलिब्रिज उद्घाटनका लागि सुर्खेतमा पुग्नुभयाे प्रधानमन्त्री ओली 

हुम्लाको खार्पुनाथमा बेलिब्रिज उद्घाटनका लागि सुर्खेतमा पुग्नुभयाे प्रधानमन्त्री ओली 


काठमाडौं-हुम्लाको खार्पुनाथमा रहेको चुवाखोलामा निर्माण बेलीब्रिज पुलको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेत पुग्नुभएकाे छ।

भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र पूर्वमन्त्री तथा एमालेका उपमहासिचव प्रदीप ज्ञवाली र प्रधानसेनापति अशोक सिग्देलसहित प्रधानमन्त्री सुर्खेतमा पुग्नुभएकाे हाे।

अहिले प्रधानमन्त्री ओलीसहितका मन्त्रीहरु नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटरमा बसेका छन्। मौसममा खराबी आएका कारण हुम्ला जान सकेका छैनन् ।

सुर्खेतमा पानी परिरहेका कारण उडान हुन सकेको छैन। मौसम सफा भएपछि प्रधानमन्त्री हुम्ला जाने सेनाले जानकारी दिएको छ।

कर्णाली करिडोर अन्तरगत खार्पुनाथ गाउँपालिका-५ मा रहेको चुवाखोलाको बेलीब्रिज प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यो पुल उद्घाटनसँगै नेपालका सबै ७७ वटै जिल्ला राष्ट्रिय राजमार्गसँग जोडिएका छन्। केही दिन अघि प्रधानमन्त्री ओलीले हुम्ला राष्ट्रिय राजमार्गसँग जोडिन लागेकोमा खुशी व्यक्त गर्नुभएको थियो । सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले भन्नुभएको थियो, ‘हुम्लाको सदरमुकामा सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ। हुम्लामा सडक पुर्याउने दशकौं पुरानो सपना पुरा हुँदैछ। यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ।’

‘साउथ एन्ड नर्थ एक्सिस गोर्थ’ रोडका रुपमा रहेको कर्णालीका करिडोरलाई त्रिदेशीय मार्ग पनि भनिन्छ । यो सडक लुम्बिनी प्रदेशको बाँके स्थित सिमावर्ती क्षेत्र जमुनिया नाकाबाट प्रारम्भ हुन्छ र हुम्ला स्थित चीनको सिमावर्ती क्षेत्र हिल्सा क्षेत्रमा टुंगिन्छ । २३ वर्ष अघि निर्माण सुरु भएको यो सडक प्रदेश राजधानी वीरेन्द्रनगर देखि ४१० किलोमिटर लामो छ । यसले कर्णालीका सुर्खेत,दैलेख,कालिकोट,सुदुरपश्चिमको बाजुराहुँदै हुम्लालाई जोड्दछ।