अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बीमाका बारेमा आमनागरिकलाई बुझाउन अहिलेको आवश्यकता: मुख्यमन्त्री कार्की

बीमाका बारेमा आमनागरिकलाई बुझाउन अहिलेको आवश्यकता: मुख्यमन्त्री कार्की


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आम नागरिक जोडिने गरी बीमा कार्यक्रमलाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सरकारले बीमा नीति बनाउन कानुन बनाउने र सुविधा पनि दिने तर जनता भने नजोडिने खालको स्थिति भएमा त्यसले राम्रो सन्देश नदिने बताउनुभयो।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘राज्यले बीमा कम्पनीहरूलाई सुविधाहरू दिने नीति बनाइदिने तर सामान्य नागरिकले यसको सेवा नपाउने हो भने राम्रो हुँदैन। त्यसतर्फ ध्यान दिनुपर्छ ।’

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले पनि कोशी प्रदेशमा कस्तो खालको नीति बनाउने र कसरी अगाडि बढ्ने भन्ने विषयमा एउटा कार्यदल बनाएरै काम गर्ने बताउनुभयो।

मुख्यमन्त्री कार्कीलेले भन्नुभयो , ‘चाँडै नै कार्यदल बनाउँछौं र त्यसका आधारमा काम गर्दछौं ।’ मुख्यमन्त्री कार्कीलेले बीमाका विविध पक्षहरूका बारेमा आमनागरिकलाई जानकारी दिनुपर्ने अहिलेको आवश्यकता रहेको चर्चा गर्दै कृषि, पशुधन र स्वास्थ्य उपचारको बीमामा ध्यान दिनु पर्नेमा जोड दिनुपर्ने बताउनुभयो। अहिले गम्भीर प्रकृतिका रोगहरूको बीमा गर्नुपर्ने आवश्यकता रहेको औल्याउँदै मुख्यमन्त्री कार्कीले यसतर्फ अलि बढी जोड दिन आग्रह गर्नुभयो। उहाँले सहकार्यको माध्यमबाट पनि बिमालाई व्यापक बनाउन सकिनेमा जोड दिनुभयो । बीमा कम्पनीहरूले बीमाको प्रक्रिया लम्ब्याउने र झन्झट दिने काम पनि रोक्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले बीमाको प्रक्रिया लम्ब्याएर झन्झट दिएर आम नागरिकलाई दुःख दिन नहुने धारणा राख्नुभयो। नेपाल बीमा प्राधिकरणले आयोजना गरेको कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी छलफल कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्रीहरू र नेपाल बीमा प्राधिकरणका अध्यक्ष लगायत कोशी प्रदेशका बीमा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले कोशी प्रदेशमा करिब ३ अरबको प्रिमियर सङ्कलन हुने र डेढ अरब जति भुक्तानी हुने गरेको जानकारी दिनुभयो। कोशी प्रदेशका विभिन्न क्षेत्रमा कसरी बीमा कार्यक्रम अगाडि बढाउन सकिन्छ भनेर अध्ययन भइरहेको र प्रदेश सरकारले यदि अध्ययन गर्न चाहेमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।