अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अरनिको राजमार्ग सञ्चालनमा, प्राविधिक र उपकरण परिचालन जारी

अरनिको राजमार्ग सञ्चालनमा, प्राविधिक र उपकरण परिचालन जारी


काठमाडौं-पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ। नेपाल र चीन जोड्ने सो राजमार्गको अन्तराष्ट्रिय नाका तातोपानी नाका कोदारी नजिक पहिरो जाँदा सो खण्ड अवरुद्ध भएको थियो।

पहिरोको माथिल्लो भागमा स्थानीयबासीको बस्ति रहेको र उक्त पहिरोको कारण बस्ति समेत जोखिममा रहेको हुँदा कठिनाई भएको थियो। सडक डिभिजन चरीकोटबाट खटिएको यन्त्र, उपकरण सहितको प्राविधिक टोली पहिरो पन्छाउन खटिएको थियो। सो स्थानमा नयाँ डिजाईन अनुसार काम गर्नु पर्ने भएकाले हाल पानी र पहिरो नियन्त्रणको काम समेत भई रहेको सडक विभागका महानिर्देशक डा. बिजय जैसीले जानकारी दिनुभएको छ । पहाडी धरातल र लेदो बगि रहने गरेका कारण सो स्थानमा समय समयमा समस्या आउने गरेको छ। ग्याविन पर्खाल लगायतका अन्य संरचनाहरुको निर्माण गरि सडक अवरुद्ध हुन नदिन प्राविधिक टोली क्रियाशिल रहेको जैसीले बताउनुभयो। सो स्थानको पहिरो नियन्त्रणको दिगो समाधानका लागि विज्ञ सम्मिलित टोलीले अध्ययन समेत जारी राखेको सडक विभागले जनाएको छ।

पहिलो चरणमा पहिरो पन्छाएर साना तथा हलुका सवारी साधन सञ्चालन गरिएको र बिहिबार अपह्रान्ह देखि ठुला सवारी साधनहरु समेत सञ्चालन हुन थालेको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौका प्रमुख शुभराज न्यौपानले जानकारी दिनुभयो। यातायात सहज रुपमा सञ्चालनका लागि प्राविधिक तथा उपकरणहरु अझै कार्यक्षेत्रमानै परिचालित रहेको उहाँले जनाउनुभयो।

केहि दिन अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले उक्त राजमार्गमा गई रहने पहिरो नियन्त्रणका लागि दिगो विकल्प खोज्न सडक विभागलाई निर्देशन दिनु भएको थियो । दिर्घकालिन समाधानका लागि केहि समय लाग्ने भए पनि चाडपर्वहरु नजिकिदै गरेको समयमा राजमार्ग अवरुद्ध हुन नदिने गरि प्राविधिक तथा जनशक्ति परिचालन गर्न मन्त्री दाहालको निर्देशन रहेको थियो।