काठमाडौं-प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि आगामी मंसिर ९ गते सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतले मुद्दाको संवेदनशीलता र शीघ्र निर्णय गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै प्राथमिकतामा राखेर सुनुवाइका लागि पेसी तोकेको हो।
सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा पेसी तोकिएको थियो। उक्त इजलासले रिट निवेदनको प्रकृति र संवेदनशीलतालाई विचार गर्दै मंसिर ९ गते प्राथमिकताका साथ पेसीमा चढाउन आदेश दिएको हो।
सर्वोच्चको आदेशमा रिट निवेदन शीघ्र निर्णय गर्नुपर्ने प्रकृतिको देखिएकाले प्राथमिकता दिई पालोसमेत आउने गरी मंसिर ९ गतेका लागि पेसी तोक्न भनिएको छ। साथै, सोको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई समेत दिन आदेशमा उल्लेख छ।
कार्कीले आफूलाई प्रहरी महानिरीक्षक पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। अब मंसिर ९ गते हुने सुनुवाइले उनको पदमा पुनर्बहालीसम्बन्धी विवादको निरूपणतर्फ महत्त्वपूर्ण प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।





प्रतिक्रिया