अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजी आन्दोलनका नाममा अराजकता फैलाउनेमाथि कानूनी कारबाही गर्न माग

जेनजी आन्दोलनका नाममा अराजकता फैलाउनेमाथि कानूनी कारबाही गर्न माग


काठमाडौं-नागरिक अभियन्ता धर्मराज तिमल्सिनाले काठमाडौंसहित देशका विभिन्न स्थानमा हालै भएका जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड, लुटपाट र अराजक गतिविधि सञ्चालन गर्नेहरूलाई कानूनी कारबाही गर्न माग गर्नुभएकाे छ।

गृह मन्त्रालयलाई सम्बोधन गरी नागरिक अभियन्ता तिमल्सिनाले पेस गरेको निवेदनमा जेनजी आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउने, नागरिक निर्माणका कार्यमा अवरोध पुर्‍याउने र सामुदायिक शान्ति सुरक्षामा असर पार्ने कार्यहरू योजनाबद्ध रूपमा गरिएको भन्दै जिम्मेवार व्यक्तिहरूमाथि तत्काल अनुसन्धान गरी कानूनी कारबाही गर्न आग्रह गर्नुभएकाे हाे।

निवेदनमा भनिएको छ, ‘संविधानले सुनिश्चित गरेको स्वतन्त्र अभिव्यक्ति र शान्तिपूर्ण आन्दोलनको अधिकार प्रयोग गर्नु प्रत्येक नागरिकको हक हो । तर त्यसको आडमा आगजनी, तोडफोड र लुटपाटजस्ता आपराधिक गतिविधि कुनै हालतमा स्वीकार्य हुन सक्दैन।’

पत्रमार्फत तिमल्सिनाले चार मुख्य माग अघि सारेका छन्:

१. अराजक कार्यमा संलग्न व्यक्तिहरूको छानबिन गरी कानूनी कारबाही गर्न।

२. आन्दोलनका क्रममा क्षति बेहोरेका पीडितलाई राहत प्रदान गर्न।

३. सार्वजनिक, निजी सम्पत्ति तथा नागरिकको शान्ति-सुरक्षाको संरक्षणका लागि प्रभावकारी कदम चाल्न।

४. कानूनको शासन स्थापना गर्दै शान्ति र स्थायित्व कायम गर्न।

निवेदनमा यस घटनाबाट राज्य र नागरिकबीचको विश्वास कमजोर भएको र यस्ता गतिविधिले भावी पुस्तामा नकारात्मक प्रभाव पार्ने चेतावनी दिइएको छ। साथै, राज्यका सुरक्षा निकायलाई संयमित भएर अपराध नियन्त्रण र पुनरावृत्ति रोक्नेतर्फ जोड दिन आग्रह गरिएको छ।