अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राज्यविरुद्धको अपराधमा गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गरिनुपर्छ: महेश बर्तौला

राज्यविरुद्धको अपराधमा गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गरिनुपर्छ: महेश बर्तौला


 काठमाडौं-नेकपा एमालेका नेता महेश बर्तौलाले अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याललाई पदबाट बर्खास्त गरी राज्यविरुद्धको अपराधमा तत्काल गिरफ्तार गरी अनुसन्धान प्रकृया अगाडि बढाइनुपर्ने बताउनु भएकाे छ।

बिहीबार बिहान सामाजिक सञ्जालमा लेख्दै उहाँले राज्यविरुद्धको अपराधमा गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्ने बताउनु भएकाे हाे।

अहिले मुलुकमा अराजकता, दण्डहिनता र जघन्य प्रकृतिका आपराधिक घटनाहरू ह्वात्तै बढेर गएको बताउँदै उहाँले साे माग गर्नुभएकाे हाे।

जेनजीको शान्तिपूर्ण आन्दोलनभित्र सुनुयोजित घुसपैठ गरी शान्ति भङ्ग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने काममा अर्यालको संलग्न रहेको बर्तौलाको दाबी छ ।

‘प्रहरीबाट लुटिएका हतियारहरु (बन्दुक र गोली) कहाँ र कोसँग छ भन्ने सूचना र जानकारी अहिलेका गृहमन्त्रीलाई शतप्रतिसत रहेको हुनुपर्दछ। किनभने भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागहरुसहित जेनेरेसन जेडले गरेको शान्तिपूर्ण आन्दोलन भित्र सुनुयोजित घुसपैठ गरी शान्ति भङ्ग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने कामको यिनी चौबिसै क्यारेटका स्टेकहोल्डर हुन् ।’ नेता बर्तौलाले सामाजिक सञ्जालमा लेख्नभएकाे छ, ‘हाम्रो इतिहास, सम्पदा र दस्तावेजहरु छानी छानी नष्ट गर्ने, व्यक्तिका घरहरु, व्यवसायिक भवनहरु तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उनी प्रायोजित उत्प्रेरक समेत हुन्। सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, अख्तियार भवन र प्रहरी चौकीहरु लगायतमा आगो लगाएर ध्वस्त बनाउन नेपाल राष्ट्रकाविरुद्ध परिचालित र निर्देशित मतियार पनि हुन् यिनी।’

शान्तिपूर्ण आन्दोलनमा अर्यालको सुनुयोजित घुसपैठको सम्बन्ध रहेको नेता बर्तौलाको दाबी छ। ‘शुद्ध नेपाली जेनजीहरुले पनि यो कुरा बुझुन कि शान्तिपूर्ण आन्दोलन भित्र उनको घुसपैठको यहि नाता सम्बन्ध रहेकै कारण उनले थोरै पनि मिहिनेत नगरिकनै गृहमन्त्री पद सजिलै हत्याउन सफल भए र सफत ग्रहण लगत्तै माथि उल्लेखित फौजदारी अपराध प्रकरणहरुमा संलग्न दोषी र अपराधीहरूलाई प्रयाप्त प्रमाणहरु रहँदारहँदै पनि कानुनी कारबाही नगर्न लिखित निर्देशन नै दिए। जसका कारण अहिले मुलुकमा अराजकता, दण्डहिनता र जघन्य प्रकृतिका आपराधिक घटनाहरु ह्वात्तै बढेर गएको छ। त्यसैले सतहमा उद्घाटित यी सबै गम्भीर तथ्यहरुका आधारमा देशलाई भयानक क्षति र शोकमा डुबाउने योजनाकारका रुपमा रहेका अहिलेका गृहमन्त्रीलाई पदबाट बरखास्त गरी राज्यविरुद्धको अपराधमा तत्काल गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइनु।’ नेता बर्तौलाले फेसबुकमा लेख्नुभएकाे छ।