अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि…

मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि…


चितवन- चितवनको कालिका नगरपालिका–६ सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरीले लगाउने जस्तै पोसाक लगाएर चोर्न आएको पाइएको छ। घरधनीसँग जम्काभेट भएपछि निजहरुले आफूहरु प्रहरी भएको र फरार कैदीबन्दी खोज्न आएको भन्दै उम्किएका थिए।

घटना विवरणअनुसार नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाको घरमा चोरी गर्न आएको आफूलाई प्रहरी बताउने व्यक्तिहरु खतिवडासँग जम्का भेट भएपछि प्रहरी भन्दै उम्किएका थिए।

खतिवडाले भन्नुभयो, ‘नजिकै रहेको काकाको घरमा क्रिकेट हेर्ने निधो भएपछि ढोका बन्द गर्न लागाएर बाहिरको बत्ती बालेर दाजुभाइ गयौ। रातको १२ बजे खेल सकिएपछि काकाको घरबाट घर फर्किंदा सडक पोलको बत्ती निभेको पाइयो। घरअगाडि बालेको बत्ती पनि बन्द गरेको पाइयो। बत्ती बन्द गरिएकामा शङ्का लाग्यो।’

‘मेरो घरबाट चार घर पर अँधेरोमा केही चीज रोकेर राखेकोसम्म आँखा पुग्यो। जब आफ्नो घरअगाडि सडकमा पुगेँ अँध्यारोमा एक अपरिचित युवा मेरो घरको बरण्डाबाट आँगनमा निस्किए’,  घटना विवरण सुनाउँदै उहाँले भन्नुभयो,  ‘एक्कासि नयाँ मान्छे देख्दा म आत्तिए। चोर १ भन्ने सम्झे। तर बोल्न सकिनँ।’ ती व्यक्तिले यहाँ कारागारबाट भागेको कैदी लुकेको छ रे कहाँ छ रु भन्दै प्रश्न सोधेपछि आफू आत्तिएर काको घरतर्फ गएको खतिवडाले बताउनुभयो।

भाइ विवेक खतिवडा र आफू पुनः घरमा फर्किंदा ती व्यक्ति अगाडि मोटरसाइकलमा रहेका अर्का व्यक्तिसम्म पुगेको उहाँले बताउनुभयो। निजहरुले दाजुभाइलाई आफूहरु प्रहरी भएको र लोकेसनले फरार कैदीबन्दी यहाँ देखाएकाले खोज्दै आएको बताएको उहाँले सुनाउनुभयो। घर आउँदा मोटरसाइकल राखेको ठाउँबाट अलि पर सारेको, जुत्ता, हेलमेट सडक किनारमा लगेर राखेको, झ्यालको पल्ला खोलेको पाएपछि बल्ल उनीहरु चोर हुन भन्ने एकिन भएको खतिवडाले बताउनुभयो।

राति नै प्रहरीलाई खबर गरी घटनाका विवरण सुनाएको उहाँले जानकारी दिनुभयो। मोटरसाइकलमा रहेका व्यक्तिले हतियारजस्तो वस्तु समेत बोकेको देखेको खतिवडाले बताउनुभयो। उहाँका अनुसार नजिकै रहेको काका कालिदास खतिवडाको घरबाट पल्सर मोटरसाइकल राति नै चोरी भएको छ। उनीहरु बत्ती निभाएर चोर्ने नियतले घरमा पसेको र जम्काभेट भएपछि आफूहरुलाई प्रहरी बताउँदै उम्किएको खतिवडाले बताउनुभयो।

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक सुवास भट्टले घटनाको जानकारी पाएसँगै राति प्रहरी परिचालन भएको र घटनाको अध्ययन थालिएको बताउनुभयो । उनीहरु प्रहरी नभएको भन्दै चोरी गर्ने नियतले आएको हुन सक्ने उहाँले बताउनुभयो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरीले फरार कैदीबन्दी पनि हुन सक्ने आशङ्का बीच सोही कोणबाट समेत अनुसन्धान थालिएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘यसै भन्न सकिन्नँ, तर सबै कोणबाट अध्ययन थालेका छौँ।’ चितवनसहित देशका धेरै कारागारबाट ठूलो सङ्ख्यामा कैदीबन्दी फरार रहेका छन्।