अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालको स्थिति क्रमशः सामान्य हुँदै गएको छ: प्रधानमन्त्री कार्की

नेपालको स्थिति क्रमशः सामान्य हुँदै गएको छ: प्रधानमन्त्री कार्की


काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले देशको अवस्था क्रमशः सामान्य बन्दै गएको बताउनुभएको छ। आज नेपालस्थित कुटनीतिक प्रतिनिधिहरुलाई देशको अवस्थाबारे सामूहिक रुपमा जानकारी दिँदै कार्कीले देशको स्थिति सहज बन्दै भएको बताउनुभएको हो।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘नेपालको स्थिति क्रमशः सामान्य हुँदै गएको छ। यो हाम्रो जनताको अदम्य सहनशीलताको प्रमाण हो। तपाईंहरूले यो सकारात्मक सन्देश विश्व समुदायमा प्रवाह गर्न सहयोग र्पुयाउनुभएमा हामी अत्यन्त आभारी हुनेछौँ।’

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिमा देशको स्थितिमा सुधार हुँदै गएको र त्यसबारे अन्तराष्ट्रिय समुदायसम्म जानकारी पुर्याइदिन आग्रह गर्नुभयो।

प्रधानमन्त्री कार्कीले यो सरकार गठन भएको एक महिना नपुग्दै, आफूहरुले प्रणालीभित्रको व्यापक भ्रष्टाचार र कुप्रशासन मात्र नभइ सुधारको अपार सम्भावनासमेत देखेको बताउनुभयो।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘यो सरकार गठन भएको एक महिना नपुग्दै, हामीले प्रणालीभित्रको व्यापक भ्रष्टाचार र कुप्रशासन मात्र होइन, सुधारको अपार सम्भावनासमेत देखेका छौँ, यही अवसर हो विश्वास पुनर्निर्माण गर्ने, संस्थागत सुदृढता ल्याउने, र शासन प्रणालीलाई पारदर्शिता र सेवामुखी दिशातर्फ लैजानेछ।’

विश्वासिलो वातावरणमा चुनाव गराउन सरकार लागि परेको जानकारी प्रधानमन्त्री कार्कीले कुटनीतिक प्रतिनिधिहरुलाई गराउनुभयो । सुरक्षाको अवस्थामा सुधार गरेर चुनावका लागि विश्वासिलो वातावरण बनाउँदै गएको जिकिर प्रधानमन्त्री कार्कीले गर्नुभयो।