काठमाडौँ-केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ। गृहमन्त्री ओमप्रकाश अर्यालले बैठक बोलाउनु भएकाे हाे। गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि हुनेछन्।
गृह मन्त्रालयका अनुसार बैठकले केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले तयार पारिरहेको एकीकृत सुरक्षा योजनाको प्रगति समीक्षा गर्ने र आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिनेछ। गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्लेको नेतृत्वमा उक्त समिति गठन गरिएको हो ।
गृहमन्त्री अर्यालले कार्यभार सम्हालेपछि समितिको गठन गरेका हुन् । समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सदस्यका रूपमा रहेका छन् भने उपसचिव रवीन्द्र अधिकारी सदस्य सचिवका रूपमा छन् ।
समितिले तयार पारेको सुरक्षा योजना प्रत्येक जिल्लामा कार्यान्वयनका लागि पठाइनेछ । जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को नेतृत्वमा गठन हुने जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले योजनाको कार्यान्वयन जिम्मेवारी लिनेछ ।
आसन्न निर्वाचनलाई लक्षित गर्दै सरकारले सुरक्षा रणनीति निर्माणलाई तीव्रता दिएको छ । सरकारले निर्वाचनलाई मुख्य राष्ट्रिय प्राथमिकतामा राख्दै सम्पूर्ण गतिविधि त्यसैमा केन्द्रित गरेको छ ।







प्रतिक्रिया