काठमाडौँ-अधिवक्ता स्वागत नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो जारी गर्दै अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीविरुद्ध उठाएको प्रश्नका कारण आफूलाई नेपाल प्रहरीको साइबर व्यूरोले पक्राउ गर्न खोजेको दाबी गर्नुभएकाे छ।
साइवर ब्युरोले फोन गरेर उपस्थित हुन भनेको अधिवक्ता नेपालले सामाजिक सञ्जालमार्फत बताउनुभएकाे हाे।
उहाँले सोमबार लक्ष्मी पुजाकै दिन भिडियोमार्फत अभिव्यक्ति स्वतन्त्रता, नैतिकता र संविधानको व्याख्या गर्दै प्रधानमन्त्री कार्कीको नेतृत्वमा बनेको सरकारलाई “निरंकुशतावादी प्रवृत्ति देखिएको” टिप्पणी गरेका छन्। साइबर व्यूरोले भने नेपाललाई बोलाइएको विषयमा अनविज्ञता प्रकट गरेको छ।
अधिवक्ता नेपालले नेपालको संविधान अनुसार पूर्व प्रधानन्यायाधीश भैसकेको व्यक्ति प्रधानमन्त्री जस्तो कार्यकारी हैसियतमा बस्न नहुने बताउँदै आएका थिए ।
‘आफ्नै विज्ञप्ति र निर्णयविपरित उहाँ सांसदबाट पूर्व प्रधानन्यायाधीश भएर पनि प्रधानमन्त्री बन्नुभयो संविधानबाहिरबाट’, अधिवक्ता नेपालले भन्नुभएकाे छ, ‘यो संसारकै अनैतिकता हो ।’
प्रहरीले गरेको फोनमा आफूले कुरा गर्दा ‘तिहार मनाउनुस्’ भन्ने जवाफ आएको भन्दै आफूलाई तिहार पछि पक्राउ गर्ने तयारी रहेको बुझेको बताएका छन् । उहाँले आन्दोलनको माग संविधानभन्दा बाहिरबाट समाधान गर्न खोज्नु जायज नहुने भन्दै अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सुशीला कार्कीले उठाएको कदम यसअघिका सरकारभन्दा पनि निरङ्कुश रहेको दाबी गरेका छन्।
नेपालको संविधानको ७६ ले गैरसांसद प्रधानमन्त्री बन्ने छुट दिँदैन । त्यस्तै धारा १३२ (२) मा ‘प्रधानन्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीश भइसकेको व्यक्ति यस संविधानमा अन्यथा उल्लेख भएकोमा बाहेक कुनै पनि सरकारी पदमा नियुक्तिका लागि ग्राह्य हुने छैन’ भन्ने व्यवस्था छ ।







प्रतिक्रिया