सुर्खेत-नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस चुनावबाट नभाग्ने र त्यसका लागि तयार रहेको स्पष्ट पार्नुभएकाे छ।
मंगलबार बिहान वीरेन्द्रनगरमा आयोजित कांग्रेस सुर्खेतका पूर्व सभापति एवं जिल्ला विकास समिति सुर्खेतका पूर्व सभापति स्वर्गीय गोविन्दबहादुर मल्लको १३औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै खड्काले वर्तमान राजनीतिक अन्योलका लागि सरकारलाई जिम्मेवार रहेको बताउनुभयाे।
कार्यवाहक सभापति खड्का भन्नभयाे, ‘कांग्रेस चुनावबाट भाग्दैन, चुनावको वातावरण सरकारले बनाउनुपर्छ। हामी चुनावका लागि तयार छौँ। सरकारले वातावरण तयार गरोस्।’
उहाँले कांग्रेस सधैँ लोकतान्त्रिक प्रक्रिया र जनमतको सम्मान गर्ने पार्टी भएकोले निर्वाचनका लागि जुनसुकै बेला तयार रहेको दोहोर्याउनुभयाे।
साथै, खड्काले कुनै पनि प्रकारको कानुनी प्रक्रियाबाट हुने छानबिन तथा अनुसन्धानमा कांग्रेसको समर्थन रहने बताउनुभयाे। तर, वर्तमान सरकारमा रहेका व्यक्तिहरूबाट पूर्वाग्रही तरिकाले राजनीतिक दलका नेताहरूमाथि लाञ्छना लगाउने काम भइरहेकोमा उहाँले आपत्ति जनाउनुभयाे।







प्रतिक्रिया