काठमाडौं-नेकपा (माओवादी केन्द्र) निकट ‘जेनजी रेडफोर्स’ संयोजक स्मृति तिमिल्सिनाले माओवादी केन्द्रभित्र रहेको भ्रष्टाचार छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ। जेनजी रेडफोर्सका एजेन्डा सार्वजानिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा तिमिल्सिनाले यस्तो माग गर्नुभएको हो
संयोजक तिमिल्सिनाले माओवादी केन्द्रमा पनि भ्रष्टाचार रहेको बताउनुभयो। सरकारले भ्रष्टाचारको छानबिन तत्काल गर्नुपर्ने उहाँको जाेड दिनुभयो। छानबिनका क्रममा दोषी देखिएमा माओवादी केन्द्रका संयोजक पुष्षकमल दाहाल ‘प्रचण्ड’लाई पनि जेल हाल्नुपर्ने उहाँको भनाइ थियो ।
‘माओवादी केन्द्रमा भ्रष्टाचार नै छैन भन्दिनँ म । भ्रष्टाचार छ, त्यो भ्रष्टाचारलाई यो सरकारले छानोस् र गल्ती देखिएको खण्डमा उनीहरूलाई, दोषी देखिएमा हाम्रो सुप्रिम कमाण्डर (प्रचण्ड)लाई पनि तपाईंहरूले जेल हाल्न सक्नुहुन्छ, यदि उहाँ दोषी देखिनुहुन्छ भने,” उहाँले भन्नुभयो।
उहाँले रेडफोर्सले भ्रष्टाचारविरुद्ध शंखनाद गरेर आवाज उठाउने बताउनुभयो। रेडफोर्सले देशमा कुनै पनि भ्रष्टाचार नसहने उहाँले सुनाउनुभयो। ‘रेडफोर्स भ्रष्टाचारविरुद्ध शंखनाथ गरेर आवाज उठाउँछ,’ उहाँले भन्नुभयो, ‘रेडफोर्सले देशका कुनै पनि भ्रष्टाचार सहने छैन।’
उहाँले अब देश जेनजी रेडफोर्सले मात्र बनाउने जिकिर गर्नुभयो । जेनजी रेडफोर्स माओवादीको मात्र नभएको उहाँले बताउनुभयो। नेपालभरिका वामपन्थी, कम्युनिस्ट विचारधारा मन पराउने सबैलाई यसमा जोडिन उहाँले आग्रह गर्नुभयो।
जेनजी रेडफोर्सले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, विज्ञबाट मन्त्रिपरिषद् गठन, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गर्नुपर्ने, सबै भ्रष्टाचारको छानबिन गरी कारबाही, संवैधानिक निकाय तथा शैक्षिक क्षेत्रका नेतृत्व तथा पदाधिकारी खुला प्रतिस्पर्धाबाट हुनुपर्ने, उच्चपदस्थ सबै व्यत्तिहरूको सम्पत्ति छानबिन, सहकारी ठगीमा संलग्न सबैलाई कारबाही, बन्द अवस्थामा रहेका उद्योग, कलकारखाना सञ्चालन गर्नुपर्नेलगायत माग अगाडि सारेको छ।







प्रतिक्रिया