अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उद्योगमा काटिएको बिजुली तत्काल जोड्न उद्योग संगठन मोरङको माग

उद्योगमा काटिएको बिजुली तत्काल जोड्न उद्योग संगठन मोरङको माग


काठमाडौं-डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलको विषयलाई लिएर नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा बिजुली आपूर्ति रोक्दा उत्पादन ठप्प भएको भन्दै उद्योग संगठन मोरङले आपत्ति जनाएको छ।

संगठनले आइतबार एक विज्ञप्ति जारी गर्दै विद्युत् आपूर्ति अवरुद्ध गरिँदा औद्योगिक उत्पादन बन्द हुन पुगेको र यसले निजी क्षेत्रप्रति नकारात्मक सन्देश गएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘डेडिकेटेड र ट्रंकलाइन महसुलको विवाद नेपाल विद्युत् प्राधिकरण र प्रभावित उद्योगबीच लामो समयदेखि समाधानविहीन बनेको छ। सरकार परिवर्तनसँगै पटकपटक विवाद बल्झँदा समग्र निजी क्षेत्रलाई नकारात्मकरूपमा प्रस्तुत गर्ने वातावरण बनेको छ, जसप्रति हाम्रो गम्भीर चासो र चिन्ता रहेको छ।’

संगठनका अनुसार, उद्योगहरूमा विद्युत् आपूर्ति काटिँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तामा नकारात्मक सन्देश गएको छ। उत्पादन बन्द हुँदा रोजगारी, राजस्व, बैंक व्याज भुक्तानी र बजार सञ्जालमा गम्भीर असर परेको छ।

मोरङ उद्योग संगठनले नेपाल विद्युत् प्राधिकरण, नेपाल सरकार र निजी क्षेत्रबीचको त्रिपक्षीय समन्वयमा तत्काल विवाद समाधान गरी विद्युत् आपूर्ति पुनः सुचारु गर्न माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘उद्योग–कलकारखाना बन्द हुँदा सिर्जना हुने जटिलतालाई आत्मसात् गर्दै अहिले काटिएको विद्युत् आपूर्तिलाई अविलम्ब सञ्चालन गर्न आग्रह गर्दछौँ ।’