अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीनमा ३३ देशका प्रतिनिधिसँग एमाले नेता रिजालले भन्नुभयो: संविधानलाई ‘लिक’मा फर्काउन शान्तिपूर्ण आन्दोलनको तयारीमा छौं 

चीनमा ३३ देशका प्रतिनिधिसँग एमाले नेता रिजालले भन्नुभयो: संविधानलाई ‘लिक’मा फर्काउन शान्तिपूर्ण आन्दोलनको तयारीमा छौं 


काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले विश्वमा समाजवादी आन्दोलन कमजोर हुँदा नेपालमा थप बलियो भएको बताउनुभएको छ।

 चीनको बेइजिङमा नोभेम्बर ३ र ४ मा आयोजना गरिएको ‘द क्रस रोड अफ वल्र्ड हिस्ट्री एण्ड द च्वाइस अफ पिपुल अफ अल नेसन्स’सम्बन्धी १५ औं अन्तराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता रिजालले सो कुरा बताउनुभएको हो। उहाँले नेकपा एमालेले आफ्ना पूर्वमहासचिव मदन भण्डारीले प्रतिपादन गरेको नेपाली विशेषताको समाजवाद जनताको बहुदलीय जनवाद (जबज) का कारण समाजवादी आन्दोलन थप शसक्त बनेको बताउनुभएको छ।

 ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघि सार्नु भएको समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षाको आलोकमा नेपालमा समाजवादी आन्दोलन थप बलियो बनेको हो’ रिजालले सो सम्मेलनलाई सम्बोधन गर्दै भन्नुभएको छ।

 ३३ वटा देशका करिब ३सय प्रतिनिधि सहभागी सो सम्मेलनमा रिजालले नेपालमा हालै भएको जेन जी आन्दोलन र यसका कारण र असरका बारेमा पनि स्पष्ट पार्नु भएको छ। रिजालले जेन जी आन्दोलनमा भएको आगलागी, हिंसा,व्यक्तिगत तथा सरकारी भवनमा आगजनी गर्ने काममा विदेशी प्रतिक्रियावादीहरुको षडयन्त्र रहेको बताउनुभयो । उहाँले खासगरी एमालेको नेतृत्वमा रहेको सरकारलाई बिस्थापन गर्न गरिएका अनेक प्रयास सफल नभएपछि जेन जीलाई प्रयोग गरेर हिंसा र विध्वंस्स मच्चाइएको बताउनुभयो। ‘जेन जी आन्दोलनका नाममा हिंसा,तोडफोड,आगजनी मच्चाएर एमाले नेतृत्वको सरकारलाई बिस्थापन गरिएको छ’ रिजालले सो सम्मेलनलाई सम्बोधन गर्दै भन्नुभएको छ ‘आन्दोलनपछि बनेको सरकार अलोकतान्त्रिक र गैह्र संवैधानिक छ।’

रिजालले पुँजीवाद र साम्राज्यवादका विरुद्ध निरन्तर संघर्ष गर्नुपर्ने उल्लेख गर्नुभएको छ । यो काम चुनौतिपूर्ण भए पनि सर्वहारा वर्गको हितका लागि अनिवार्य भएको रिजालको भनाइ थियो । पाटी अध्यक्ष केपी शर्मा ओलीको भनाइ उधृत गर्दै रिजालले नेपालले जनताको समृद्धि र खुशीलाई नै समाजवादको अन्तिम लक्ष्य राखिएको बताउनुभयो । उहाँले नेपालमा संविधान माथी धावा बोलिएको सन्दर्भमा त्यसलाई सही लिकमा फर्काउनका लागि एमालेले शान्तीपूर्ण आन्दोलन र जनपरिचालनका कार्यक्रम अघि सारेको विश्व समुदायलाई जानकारी गराउनु भएको छ।