काठमाडौं-राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन् । आज बिहान सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बैठक बसेको हो।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हासहित राष्ट्रियसभामा प्रतिनिधित्व रहेका नेकपा (माओवादी केन्द्र)का तर्फबाट नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना, नेकपा (एमाले)बाट गोपालप्रसाद भट्टराईलगायत सदस्यको उपस्थित छ ।
राष्ट्रियसभा अध्यक्ष दाहालले यो सदनअन्तर्गतका समितिहरूको बैठक निरन्तर राखिरहेका छन् । साथै, राष्ट्रियसभाको अधिवेशन आह्वानका निम्ति सरकार, राजनीतिक दलहरूसँग छलफल र पहलकदमी गर्दै आएका छन् ।
राष्ट्रियसभाका अध्यक्षले समितिका बैठकहरू निरन्तर चलाउने तयारी थालेका छन् । राष्ट्रियसभामा दर्ता र विचाराधीन विधेयक अगाडि बढाउन समितिहरूको बैठक निरन्तर चल्नुपर्ने हुन्छ ।
गएको भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताको आन्दोलनसँगै संघीय संसद्को अधिवेशन अन्त्य गरिएको थियो । आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी र तोडफोड गरिएपछि बैठक बस्न स्थानको समस्या छ । सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयको हलमा बैठक राख्ने गरी संसद् सचिवालयले तयारी गरेको छ ।







प्रतिक्रिया