अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जय बागेश्वरीमा व्रह्माको मन्दिर मेयर र उपमेयर डंगोलबाट उद्घाटन

जय बागेश्वरीमा व्रह्माको मन्दिर मेयर र उपमेयर डंगोलबाट उद्घाटन


काठमाडौँ-काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आज व्रह्माको मन्दिर समुद्घाटन गर्नुभएकाे छ । उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष आशामान संगतसहित प्रमुख शाहले महानगरपालिकाको वडा नम्बर ८ जयवागेश्वरी, गायत्री मार्गमा रहेको मन्दिर समुद्घाटन गर्नुभएकाे हाे।

मन्दिर समुद्घाटनपछि बोल्दै उपप्रमुख डंगोलले, प्राचीन स्मारकको जीवनका रुपमा रहेका आकृतिक, मूर्ति तथा कलाकृति पुनरुत्थानबाट सांस्कृतिक सहरको पहिचान पुनस्थापित गर्न लागिरहेको बताउनुभयाे।

मूर्ति राख्ने प्रसङ्गमा उहाँले भन्नुभयाे, ‘जहाँ मूर्तिको पूजा हुन्छ । मूर्तिलाई त्यहीँ राख्नुपर्छ । यसलाई हामीले अभियानका रुपमा अगाडि बढाएका छौँ ।’

यो मन्दिर हराएकै १ सय वर्षभन्दा धेरै भएको थियो । वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक संगतका अनुसार १९९० साल अघि नै मन्दिर भग्नावशेष भएको थियो । यसपछि झाडी मात्र थियो । पुरातत्व विभागको सहयोगमा मन्दिर भएको ठाउँमा उत्खनन गरेपछि यसको प्राचीनताको अध्ययन गरिएको थियो। संगत भन्नुहुन्छ, ‘अध्ययनबाट मन्दिर छैटौँ शताव्दीदेखि सातौँ शताव्दीको बीचमा निर्माण भएको अनुमान गरिएको छ । मन्दिरको वनावट र प्रकृति सम्बन्धी दस्तावेज नपाइएपछि जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरातत्वविदहरुबाट मन्दिरको रेखाङ्कन गराएर पुन:निर्माण गरिएको हो।’

मन्दिरको मूर्ति गौशाला प्रहरी वृत्तमा राखिएको थियो । चतुर्मुख व्रह्माको यो मूर्तिलाई पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार कार्तिक १७ गतेको साइतमा प्रहरी परिसरबाट रथारोहण गरी मन्दिरमा लगेर पुनःस्थापना गराइएको हो । करिब २०३६ सालतिर यो मूर्ति चोरिएको थियो । चोरेर लैजाने क्रममा टाढा पुर्‍याउन नसकेपछि चोरले छोडेर भोगेका थिए । त्यसपछि प्रहरीले मूर्तिलाई संरक्षणमा राखेको थियो ।