अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा पुस्ताको सुशासन र विकासको चाहना पूरा गर्न ध्यान दिऔं: राष्ट्रपति पौडेल

युवा पुस्ताको सुशासन र विकासको चाहना पूरा गर्न ध्यान दिऔं: राष्ट्रपति पौडेल


काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरण गर्न र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माणमा सञ्चार माध्यमहरुको योगदान महत्वपूर्ण हुने बताउनुभएको छ। 

सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव तथा सार्वजनिक सेवा प्रसारण र एन टिभी वर्ल्ड औपचारिक शुभारम्भ समारोहलाई आज यहाँ सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो। 

‘नेपाली जनताको ठूलो बलिदानीले लोकतन्त्रको स्थापना भएको हो। यसको सुदृढीकरण गर्न र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माण गर्न सञ्चारमाध्यमको योगदान महत्वपूर्ण रहन्छ’, उहाँले भन्नुभयो । 

राष्ट्रपति पौडेलले सुशासन र लोकतन्त्रलाई अझ उन्नत बनाउन फागुन २१ को निर्वाचन सफल बनाउनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी फागुन २१ को लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन सञ्चारमाध्यमहरुले अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने आजको आवश्यकता हो।’

राष्ट्रपति पौडेलबाट ‘एनटिभी वल्र्ड’ शुभारम्भ काठमाडौँ, २३ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलबाट सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले स्थापनाको प्रथम वार्षिकोत्वसका अवसरमा सिंहदरबारस्थित पिएसबी, नेपाल टेलिभिजनको परिसरमा आइतबार आयोजित समारोहमा नेपाल टेलिभिजनको अङ्ग्रेजी च्यानलका रुपमा ‘एनटिभी वल्र्ड’को औपचारिक शुभारम्भ गर्नुहुँदै । तस्बिरः गोपाल दाहाल÷रासस

स्वतन्त्र स्वायत्त संस्थाका रुपमा सार्वजनिक प्रसारण माध्यमको विकास भएको उहाँको भनाइ थियो । “त्यसैले, लोकतान्त्रिक मूल्य मान्यता, स्वतन्त्र व्यावसायिक पत्रकारिताको धर्म अनुरुप स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी भएर नागरिकलाई सुसूचित गर्ने गरी सार्वजनिक सेवा प्रसारणका सम्बन्धमा विश्वले स्वीकारेका आधारभूत मान्यतालाई तपाईंहरूले आत्मसात गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु”, राष्ट्रपति पैडेलले  भन्नुभयो ।