काठमाडौं-विवादित मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले काठमाडौं महानगरका प्रमुख बालेन शाहविरुद्ध संघर्षमा उत्रिने चेतावनी दिनुभएको छ।
आइतबार मनोहरा खोला आसपासका सुकुम्बासी बस्तीमा पुगेका प्रसाईंले प्रमुख बालेन प्रति कडा चेतावनी दिँदै आफू सुकुम्बासीको पक्षमा उत्रिने घोषणा गर्नुभएको हो।
सुकुम्बासी बस्तीमा भएको भेलामा स्थानीयलाई सम्बोधन गर्दै प्रसाईंले २०८२ मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो आन्दोलनमा उनीहरुलाई पनि सहभागी हुन आग्रह गर्नुभयाे।
सुकुम्बासी बस्तीमाथि भइरहेको अन्यायका विरुद्ध आवाज उठाउनुपर्ने बताउँदै प्रसाईँले भन्नुभयाे, ‘गरिबको घर भत्काउँदा खेरी कतै तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस्। सुकुम्बासीमाथि भइरहेको अत्याचार सह्य छैन।’
उहाँले काठमाडौं महानगरलाई सुकुम्बासी बस्तीमा अत्याचार गर्नु अघि बालमन्दिर खाली गर्न चुनौती दिनुभयाे। प्रसाईँले भन्नुभयाे, ‘पहिला बालमन्दिर खाली गर्नुहोस्, त्यसपछि मात्रै सुकुम्बासी बस्तीमा आँखा लगाउनुहोस्। भूमीहिनका घर भत्काउनु भन्दा अगाडि घर, बाटो, बिजुली र खानेपानीको व्यवस्था गरौं।’
आफू गरिब र उत्पीडित वर्गको पक्षमा रहेको दाबी समेत उहाँले गर्नुभयाे। प्रसाईँले सुरक्षा दिन सके आफू सुकुम्बासी बस्तीमै बस्न तयार रहेको समेत बताउनुभयाे । प्रसाईँले मंसिर ७ गतेदेखि सुरु हुने अनिश्चितकालीन ‘नेपाल बन्द’ आन्दोलनमा साथ दिन सर्वसाधारणलाई आग्रह गर्नुभयाे।
प्रसाईँले भन्नुभयाे, ‘म गरिबको मान्छे हो, दुर्गा प्रसाईँ भनेको लुगा नलागाएको जोगी हो। तपाईंहरूले सुरक्षा दिनुभयो भने म यही सुकुम्बासी बस्तीमै बस्न तयार छु। अब आउने मंसिर ७ गते तपाईंहरूलाई बचाउने मान्छे पूर्वबाट उदाएको छ। म तपाईंहरूको साथमा सडकमा आउन चाहन्छु, तपाईंहरूलाई बचाउन चाहन्छु।’
सुकुम्बासी बस्ती खाली गर्न महानगरले दिएको एक हप्ताको अल्टिमेटम आज सकिँदैछ। अल्टिमेटम सकिएसँगै बस्ती खाली गराउने महानगरको योजना छ।







प्रतिक्रिया