काठमाडौं-प्रेस चौतारी नेपालले नेकपा (एमाले)को आउने महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत रूपमा पुनःपार्टी अध्यक्ष बनाइनु पर्ने स्पष्ट धारणा सार्वजनिक गरेको छ।
श्रमजिवी पत्रकारहरूको संगठनका रूपमा रहेको प्रेस चौतारीले देशका चुनौतीहरू समाधान गर्न फेरि पनि केपी ओलीकै नेतृत्वमा पार्टी र देश अगाडि बढ्नु अपरिहार्य रहेको निष्कर्ष निकालेको हो।
आज बसेको प्रेस चौतारीका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आन्तरिक बैठकमा संगठनका अध्यक्ष गणेश पाण्डेले समसामयिक राजनीतिक परिस्थितिमा केपी ओलीको सक्षम नेतृत्व नै राष्ट्रिय आवश्यकता भएको बताउनुभयो।
देशलाई स्थिरता, राष्ट्रियता र आर्थिक पुनरुत्थानतर्फ अघि बढाउन सक्षम नेतृत्व आवश्यक रहेको वर्तमान परिस्थितिमा ओलीको विकल्प नरहेको चौतारीको निष्कर्ष छ । एमालेलाई एकताबद्ध गर्दै राष्ट्रिय राजनीतिलाई स्थिरतामा लैजान सक्ने क्षमतासहितको नेतृत्व अध्यक्ष ओलीमा नै रहेको चौतारीको निष्कर्ष छ। ‘अहिले पार्टीभित्र विवाद वा प्रतिस्पर्धा होइन, राष्ट्रिय आवश्यकता बुझेको सर्वसम्मत मान्यता आवश्यक छ’. अध्यक्ष पाण्डेले भन्नुभयो।
अध्यक्ष पाण्डेले आगामी महाधिवेशनलाई संगठन सुदृढीकरण, विचार–सिद्धान्त परिष्करण र राष्ट्रिय राजनीति स्थिरताकै दृष्टिले महत्वपूर्ण मोडको रूपमा व्याख्या गर्दै प्रेस चौतारीका सबै संरचनालाई आन्तरिक एकता र अनुशासनको आधारमा अघि बढ्न सुझाव दिनुभयो। अध्यक्ष पाण्डेले पाण्डेले भदौ २३ र २४ गते भएको आन्दोलनलाई प्रतिक्रान्ति भएको दाबी गर्दै त्यसले मुलुकलाई अस्थिरतामा धकेल्ने प्रयास भएको टिप्पणी गर्नुभयो ।
बैठकमा संगठनका निवर्तमान अध्यक्ष गणेश बस्नेतले समेत केपी शर्मा ओलीको नेतृत्वमा एमालेलाई अघि बढाउने विकल्प नरहेको धारणा व्यक्त गर्नुभयो । उहाँले केपी ओली र एमालेलाई जनताले विश्वास गरेर दिएको समर्थन तथा नेतृत्व क्षमताका कारण नै विभिन्न कोणबाट आक्रमण हुने गरेको बताउनुभयो । जेनजी आन्दोलनका नाममा ओलीको निवासमा आगजनी हुँदा सोही क्रममा प्रचण्डको घरसमेत जलेको तथ्य स्मरण गर्दै उहाँले भन्नुभयो ‘अरूलाई सिध्याउन खोज्नेहरू आफू पनि बचिँदैन ।’
बैठकमा संगठनका महासचिव हिरामान लामाले संगठनमा बसेपछि अनुशासित भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । अनुशासनहीन व्यवहारले संगठनलाई अघि बढाउन नसकिने बताउँदै उहाँले सबै सदस्यलाई स्पष्ट जिम्मेवारी, आचरण र अनुशासनका साथ अघि बढ्न आग्रह गर्नुभयो।







प्रतिक्रिया