काठमाडौँ-नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले दृश्य–अदृश्य शक्तिहरूले सरकार र दलहरूबीच मुठभेड होस भन्ने चाहेको बताउनुभएको छ।
बुधबार सिमरामा भएको जेनजी प्रदर्शनलाई लक्षित गर्दै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो।
सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले भन्नुभएको छ– ‘हिजो सिमरामा जे घटना भयो, अत्यन्तै दुःखद घटना भयो। अझै दृश्य वा अदृश्य पक्षहरूले सरकार र दलहरूबीच मुठभेड होस् भन्ने चाहन्छन्। कुनै न कुनै बहानामा संविधान फ्याँक्न चाहन्छन्।’
हजारौँ नागरिक र अग्रजहरूको बलिदानबाट आएको यो व्यवस्था र संविधान रक्षा गर्नुपर्ने बताउनु भएको छ। उहाँ भन्नुहुन्छ– ‘नेपालको कुनै पनि भूभागमा निर्बाध आवतजावत गर्ने पाउने,विचारको छनौट गर्न पाउने, आफूलाई मन पर्ने विचार वा दलमा सङ्गठित हुन पाउने, शान्तिपूर्ण रूपमा भेला, सभा सम्मेलन गर्न पाउने, संविधान प्रदत्त हकहरू हुन। यी हकहरू यही संविधानमा मौलिक हकको रूपमा ग्यारेन्टी गरिएको छ। यसलाई अक्षुण्ण राख्नु सरकारको कर्तव्य हो ।’
शान्ति सुव्यवस्था कायम गर्नु, जनता र सार्वजनिक, निजी सम्पत्तिको सुरक्षाको पूर्ण प्रत्याभूति दिन, शान्ति सुरक्षाको व्यवस्था गर्नु सरकारको पहिलो जिम्मेवारी भएको उहाँले स्मरण गराउनु भएको छ। ‘हिजो जे भयो के ठिक भयो त ? यसरी नै हो नागरिक हकहरू खुम्चिँदै जाने। सरकार अब बदलाबाट होइन संवादबाट अगाडी बढोस्। सबै देशभक्त नेपालीहरू फेरी एक पटक जुटौँ। यहाँ सवाल देशको छ, राष्ट्रको छ, देशको सार्वभौमसत्ताको’, उहाँले भन्नुभएकाे छ।







प्रतिक्रिया