अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्माणाधिन संघीय संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन

निर्माणाधिन संघीय संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन


काठमाडौं-सभामुख देवराज घिमिरेले सिंहदरबारभित्र निर्माणाधिन संघीय संसद भवनलाई समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ।

बिहीबार राष्ट्रिय सभाअध्यक्षसहित निर्माणाधीन भवन निरीक्षणमा पुगेका सभामुख घिमिरेले यस्तो निर्देशन दिनुभएको हो।

सभामुख घिमिरेले निर्माण कार्यको गति थप बढाउन समेत निर्माण कम्पनीलाई निर्देशन दिनुभयाे। 

सभामुख घिमिरेले निर्माण कम्पनीले हाल ३५० जनाको श्रमशक्ति प्रयोग भइरहेको जानकारी दिएको उल्लेख गर्दै सोहीअनुसार अगामी चैत १५ सम्म निर्माण सम्पन्न गर्ने गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयाे।

निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयाे, ‘निर्माणाधिन संसद भवन निर्माणको कार्यले केही गति लिएको जस्तो देखिन्छ। राष्ट्रिय सभा अहिले पनि जारी छ। त्यसको हल छैन। राष्ट्रिय सभा यो भवनमा तत्काल चलाउनको लागि सम्भव देखिएन। त्यसको लागि अरु नै विकल्प खोज्नुपर्ने आवश्यकता छ। प्रतिनिधि सभा सञ्चालनको लागि चैतको अन्तिमसम्ममा तयारी गर्नेगरी जानुपर्छ। त्यसरी गयो भने सकिन्छ भन्ने देखिन्छ।’

निर्माणाधिन उक्त भवनको २०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। तीन वर्षमा निर्माण सक्ने लक्ष्यअनुसार काम सुरु गरेपनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद र लगानी थप गरिँदै आएको छ। १५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण हुँदैछन्।