अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेसँग जनता छन् कि छैनन्, ११ औं महाधिवेशनबाट देखाउन चाहन्छौँः शंकर पोखरेल

एमालेसँग जनता छन् कि छैनन्, ११ औं महाधिवेशनबाट देखाउन चाहन्छौँः शंकर पोखरेल


काठमाडौं-नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको एघारौँ महाधिवेशनको उद्घाटन सभामा सहभागी हुने सबैलाई आह्वान गर्नुभएको छ।

मंगलबार पार्टी मुख्यालय च्यासलमा पार्टीको वन तथा वातावरण विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले  सो आह्वान गर्नुभएको हो।

महाधिवेशनको उद्घाटन कार्यक्रम भक्तपुरका सल्लाघारीमा यही मंसिर २७ गते हुँदैछ। सो सभालाई एमालेले प्रतिगमन विरुद्धको संघर्षको उत्कर्ष र उत्सवको रुपमा मनाउन चाहेको महासचिव पोखरेलको भनाई थियो।

महासचिव पोखरेलले सो सभामार्फत एमालेले ठूला दलहरूको पक्षमा जनमत छन् भन्ने सन्देश दिन चाहेको पनि स्पष्ट पार्नुभयो। महासचिव पोखरेलले सो सभामा जनता, लोकतन्त्र र देशभक्तिको पक्षमा रहेकाहरू सबै उपस्थित हुने विश्वास समेत व्यक्त गर्नुभयो। 

महासचिव पोखरेलले भन्नुभयो, ‘हाम्रो पार्टीको एघारौँ महाधिवेशनको उद्घाटन सत्र भक्तपुर सल्लाघारीको तीनकुने चौरमा नेपालको इतिहासकै सर्वाधिक जमघट भएको समारोहको रुपमा आयोजना गर्न चाहन्छौँ। वास्तवमा नेपालका प्रमुख दलहरूसँग जनता छ कि छैनन् भन्ने कुराको सन्देश हामी त्यो सभाको माध्यामबाट दिन चाहन्छौँ। त्यो प्रतिगमन विरुद्धको संघर्षको पनि उत्कर्ष हुनेछ। र, त्यो हाम्रो पार्टी जीवनको एउटा उत्सव हुनेछ। संघर्ष र उत्सवको एउटा क्लाईमेक्सको रुपमा त्यो सभालाई हामीले बनाउन खोजिराखेका छौँ।’

महासचिव पोखरेलले एमालेले मुलुकलाई लोकतान्त्रिक लयमा फर्काउन नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको समेत बताउनुभयो।