अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज देखि आर्थिक गणना सुरु : पाँचहजार गणक परिचालन हुँदै

देशभर आज देखि आर्थिक गणना सुरु : पाँचहजार गणक परिचालन हुँदै


काठमाडौं – देशभर आज देखि देखि दोस्रो आर्थिक गणना हुँदै छ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरिवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

कार्यतालिकाअनुसार स्थलगत तथ्यांक संकलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब ५ हजार जनशक्ति परिचालित गरिएका छन् ।

सो गणनामा आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण संकलन हुनेछ । गणनाबाट उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र सार्वजनिक संस्थाको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण संकलनको उद्देश्य राखिएको छ ।

देशभर रहेका दर्ता भए, नभएका ठूला साना, व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार प्रतिष्ठानको तथ्यांक संकलन गरिने छ । त्यस्तै, उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी संघसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताल लगायतको गणना गरिने छ ।

उक्त गणनाको प्रतिवेदन आर्थिक वर्ष २०८३ र ८४ मा सार्वजनिक गरिने कार्यालयका उप प्रमुख तथ्यांक अधिकारी ढुण्डिराज लामिछानेले बताए । हाल सन् २०१० र ११ लाई आधार वर्ष मानेर जीडीपीको अनुमान गरिँदै आएकोमा अब सन् २०२२ र २३ लाई नयाँ आधार वर्ष कायम गर्न यो गणनाले मुख्य भूमिका खेल्ने उनको भनाइ छ ।

अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्यांक संकलन गरिने भएकाले यस कार्यमा योगदानका लागि सबैलाई आग्रह गरेको छ ।

आर्थिक गणना तयारीको पूर्वचरणका काम गत फागुन मसान्तमा सम्पन्न भइसकेका छन् । चैतको सुरुआतमा ७७ जिल्ला र थप सात गरी ८४ कार्यालय स्थापना गरिएका छन् । ती कार्यालय आगामी असार मसान्तसम्म सञ्चालन हुने उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेले जानकारी दिए ।

यसअघि विसं २०७५ मा राष्ट्रिय आर्थिक गणना गरिएको थियो । गणनामा देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक भएको थियो ।