सुर्खेत– नेपालमा पछिल्लो दशकमा व्यापक रूपमा सहरीकरण भएका थोरै सहरहरूमध्ये वीरेन्द्रनगर एउटा हो। कर्णाली प्रदेशको ‘गेट वे’ को रूपमा चिनिएको यो सहरलाई सङ्घीयता फापेको छ। प्रदेशको राजधानी सहर घोषणा भएसँगै यो सहरमा मानव चहलपहल एक्कासि बढ्यो। वर्षौं देखि बन्द भएको विमानस्थलमा जहाज उड्न थाले। त्यो पनि एउटा होइन, दुई वटा होइन दैनिक चार/पाँचवटासम्म। जहाज कम्पनीहरूले वीरेन्द्रनगर विमानस्थलमा बढाएको जनसंख्या बाटै अनुमान गर्न सकिन्छ कि यो सहर कति चलायमान भइसक्यो भनेर।
तीन वर्ष अघि यो सहरमा करिब डेढ लाख मानिसको बसोबास थियो। तर अहिले यो सङ्ख्या झन्डै दोब्बरले वृद्धि भएको छ। अझ यहाँ पढ्न, उपचार गर्न, किनमेल गर्न, सङ्घीय राजधानी वा विदेश जान वा आफ्नै दैनिक काम गर्नका लागि दैनिक हजारौं मानिसहरू आउने जाने गरेका छन्। जसले गर्दा नगरपालिकाका १६ वटा वडामा यो मोबाइल जनसङ्ख्या सहित करिब ५ लाख मानिस बसोबास गर्ने गरेको अनुमान छ। प्रादेशिक राजधानी हुनु पूर्व नै बनिबनाउन भएका सहरहरू विराटनगर र जनकपुरमा उस्तो धेरै सहरीकरण थपिएन। बागमती प्रदेशको राजधानी हेटौडाले काठमाडौं उपत्यका, काभ्रे तथा धादिङ चितवनतिरका मानिस तान्न सकेन। पोखराको बिस्तारमा प्रदेश राजधानी भन्दा पनि त्यहाँको पर्यटकीय सम्भावनाले भएको हो। बुटवलबाट देउखुरी सारिएको लुम्बिनी प्रदेशको राजधानीले सहरको आकार ग्रहण गरेकै छैन। राजा वीरेन्द्रले व्यवस्थित बनाएको तर त्यस अनुसारको जनसङ्ख्या र पूर्वाधार नपाएको वीरेन्द्रनगरले सङ्घीयताको सबैभन्दा बढी फाइदा पाएको छ। सुदूरपश्चिमको राजधानी धनगढीबाट गोदावरी सार्ने भनिए पनि यो कार्यान्वयन नभएको निर्णय हो।

२०३३ सालमा स्थापना भएको वीरेन्द्रनगर नगरपालिकाले केही दिन अघि आफ्नो स्थापनाको स्वर्ण महोत्सव मनाएको छ। स्वर्ण महोत्सव अर्थात् स्थपनाको ५० वर्ष वा आधा शताब्दी आफैंमा एउटा बृहत् इतिहास हो। यस सहरसँग जोडिएका अनगन्ति किस्सा र कथा छन्। बाबु राजा महेन्द्रले कञ्चनपुरमा महेन्द्रनगर सहर बसाएपछि छोरा वीरेन्द्रले त्यसकै सिको गर्दै आफ्नो नाममा वीरेन्द्रनगर सहर बसाएको भनाइ छ। तथापि उर्वर उपत्यकामा बस्न मानिसहरू यसै पनि लालाहित थिए। आसपासका हिमा तलीथा पहाडी जिल्लाबाट मानिसहरू उर्वर भूमी भएको वीरेन्द्रनगर आउन चाहे पनि ज्यान जाने भयले रोकिएका थिए। जब वीरेन्द्रले व्यवस्थित सहर बसाउने सुरूवातसँगै औलो उन्मुलनका विधि प्रयोग गरे। त्यसपछि यहाँका उर्वर खेतका गराहरू मानव बस्तीले भरिन थालेका हुन्।
स्थापना दिवसको अवसरमा आफ्नो मन्तव्यमा नगर प्रमुख मोहनमाया ढकालले भनिन्, ‘नगरलाई आर्थिक रूपमा सम्पन्न, भौतिक रूपमा योजनाबद्ध, सामाजिक रूपमा समावेशी, वातावरणीय रूपमा स्वच्छ, व्यवस्थापकीय रूपमा सुव्यवस्थित शहरका रूपमा विकास गर्दै कर्णाली प्रदेशको व्यवस्थित राजधानी बनाउने हाम्रो लक्ष्य रहेको छ।’ प्रदेश राजधानी भएको करिब दुई वर्षपछि स्थानीय तहको निर्वाचनपछि यो सहरले विकासको थप गति समाएको हो। ‘अघिल्लो कार्यकालमा नयाँ वीरेन्द्रनगरमा विकासको जग बसाउने काम भयो। पछिल्लो कार्यकालमा विकासका पिलरहरू उठे’ प्रमुख ढकाल भन्छिन्, ‘कुनै बेला औलोको महामारीको यो शहरलाई हामीले सूचना, प्रविधि र एआई मैत्री शहर बनाउने अभियानमा छौं।’ नगरपालिकाले नवयुवाहरूलाई प्राविधिक तालिम दिएको छ। नवप्रवर्तनका सीप र क्षमताका लागि प्रेरित गरेको छ। कर्णाली प्रदेशकै सूचना प्रविधिको हब रूपमा यो शहर स्थापित भएको छ। साविक भेरी अञ्चल तथा मध्यपश्चिम विकास क्षेत्रको सदरमुकामको यो सहर संघीयतासँगै कर्णालीमा जोडिएको हो। प्रदेश राजधानी भएपछि साविकका कर्णालीबाट प्रविधि र सीप सिक्नका लागि नेपालगञ्ज झर्ने युवायुवतीहरू अहिले सुर्खेत आउछन्। ‘स्कूल क्याम्पस पढ्ने निजी व्यवसायिक प्रतिष्ठानमा काम गर्नेहरू सबै नवयुवा छन्,’ ढकाल भन्छिन्, ‘यो सहरले उनीहरूलाई आधारभूत शिक्षा देखि उच्च शिक्षा, रोजगारी देखि प्राविधिक सीप र प्रविधिको पछिल्लो उच्चतम प्रयोग एआई पनि सिकाइरहेको छ।’
स्वर्ण महोत्सवको अवसरमा नगरपालिकाले प्रकाशन गरेको ‘वीरेन्द्रनगर रूपान्तरणका चार वर्ष’ पुस्तिकामा उल्लेख भए अनुसार नगरपालिकाको सेवा पूर्ण डिजिटल गर्न कोसिस भएको देखिन्छ। सार्वजनिक सेवा तथा सुशासन खण्डमा अधिकांश सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध हुने उल्लेख छ। हुन पनि कर्णालीको डिजिटल बजार नै वीरेन्द्रनगरले धानेको छ।







प्रतिक्रिया