काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा.धवलशमशेर राणाले पार्टी परित्याग गर्ने घोषणा गरेका छन्।
महामन्त्री डा. राणाले देशमा नयाँ र विश्वसनीय राष्ट्रवादी शक्ति निर्माणका लागि नयाँ अभियानको घोषणा गरेका छन्। उनले राप्रपा छोडेर नयाँ शक्ति निर्माणका लागि लाग्ने बताएका हुन् । राणाले राप्रपाको वर्तमान बाटो र कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै नयाँ राजनीतिक यात्रा सुरु गर्ने उल्लेख गरेका छन् ।
आज वक्तव्य जारी गर्दै उनले विगत चार वर्ष राप्रपालाई जनभावनाअनुकूल अघि बढाउने प्रयास गरिएको भए पनि पार्टीभित्र देखिएको विरोधाभाष र सैद्धान्तिक द्विविधाका कारण सही दिशामा अघि बढ्न नसकेको उल्लेख गरेका छन्।
नेता राणाले भनेका छन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विगत चार वर्ष जनभावनाअनुकूल अघि बढाउने प्रयास गर्यौं । तर, विरोधाभाष र सैद्धान्तिक द्विविधाबीच गलत बाटोमा हिँड्ने हिँडाउने क्रमले राप्रपा जनताबाट दण्डित भयो।’
नेता राणाले पार्टीभित्र रहेका सहकर्मीहरूलाई शुभकामना दिँदै व्यक्तिगत वैरभाव नरहेको स्पष्ट पारेका छन्। साथै, स्वच्छ मन र आत्मीय सम्बन्धका साथ राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि उनले बताएका छन्।
यस घटनासँगै राष्ट्रिय प्रजातन्त्र पार्टी भित्रको आन्तरिक राजनीतिक परिस्थितिबारे फेरि चर्चा सुरु भएको छ।
नेता राणाको यो निर्णयलाई राजनीतिक वृत्तमा महत्त्वपूर्ण घटनाक्रमका रूपमा हेरिएको छ।





प्रतिक्रिया