काठमाडौं-पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारीसाधन बसपार्कभित्रै रोकिएका छन् । सडक अवरुद्ध हुनुका साथै वैकल्पिक मार्गमा समेत सवारी चाप बढेपछि यातायात सञ्चालनमा समस्या भएको हो ।
पृथ्वी राजमार्ग बन्द भएपछि काठमाडौंलाई हेटौँडासँग जोड्ने कान्ति लोकपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको थियो । तर, उक्त सडकमा पनि सवारीसाधनको चाप अत्यधिक बढेपछि थप समस्या उत्पन्न भएको छ । त्यसपछि नयाँ बसपार्कबाट छुट्ने सवारीसाधनलाई बसपार्कमै होल्ड गरिएको छ ।

सवारीसाधन रोकिँदा दसैँ मनाउन घर फर्किन लागेका यात्रुहरू मर्कामा परेका छन् । अग्रिम टिकट लिएर बसपार्क पुगेका यात्रुहरू समेत यात्रा अनिश्चित भएपछि अन्योलमा परेका छन् । बसपार्कमा यात्रुको भिड बढ्दै जाँदा गन्तव्यमा पुग्ने समयबारे यात्रुहरू अन्योलमा छन् ।
दसैँ नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढिरहेको समयमा राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा यातायात व्यवसायी थप समस्यामा परेका छन् ।
सडक भासिएको स्थानमा मर्मत गरी यातायात सञ्चालन सहज नबनाएसम्म काठमाडौं बाहिरिने सवारीसाधनको आवागमन प्रभावित हुने देखिएको छ । यात्रुले यात्रा सुरु गर्नुअघि सम्बन्धित यातायात व्यवसायी तथा ट्राफिक प्रहरीसँग सडकको अवस्थाबारे जानकारी लिनुपर्ने देखिन्छ ।





प्रतिक्रिया