काठमाडौं-रातभर परेको अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको नार्के–पिन्थली खण्डमा लेदो र गेग्रान पन्छाएपछि यातायात पुनः सञ्चालनमा आएको छ ।
शनिबार बिहान बीपी राजमार्गअन्तर्गत नार्के र पिन्थलीबीचको सडकखण्डमा वर्षासँगै लेदो माटो र गेग्रान खस्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको थियो । उक्त स्थान मंगलटारबाट करिब तीन किलोमिटर भकुन्डेतर्फ पर्छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सडक अवरुद्ध भएपछि सुरक्षाकर्मी तथा प्राविधिक टोलीले डोजरको सहायताले लेदो र गेग्रान हटाउने काम तीव्र पारेका थिए ।
सडकमा जम्मा भएको लेदो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्न थालेका छन् । स्थानीय प्रशासनका अनुसार अवरुद्ध सडक खुलाइएसँगै यातायात सेवा पुनः सञ्चालनमा आएको हो ।
सडक सञ्चालनमा आए पनि उक्त खण्ड निर्माणाधीन अवस्थामा रहेकाले सावधानीपूर्वक यात्रा गर्न चालकहरूलाई आग्रह गरिएको छ ।



प्रतिक्रिया