नवलपरासी-नवलपरासी पश्चिमको सुस्तास्थित नारायणी नदीमा नयाँ तटबन्ध निर्माण गर्न भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले रोकेको छ। आइतबार साँझ नेपाली भूमिमा प्रवेश गरेको एसएसबीको टोलीले सुस्ता गाउँपालिका-५ मा नयाँ तटबन्ध निर्माणको काम अघि नबढाउन भनेको हो।
सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले भारतीय एसएसबीको टोली आएर नयाँ तटबन्ध निर्माणको काम रोक्न भनेको बताए। आइतबार साँझ भारतीय सुरक्षाकर्मीको टोली निर्माणस्थलमा आएर नयाँ काम रोक्न भनेको जानकारी स्थानीयबाट पाएको उनले बताए ।
‘असारसम्म काम सक्ने गरी तटबन्धको काम भइरहेको थियो। तर, हिजोको घटनाले अन्योल उत्पन्न भएको छ’ उनले भने । नारायणीको कटान र डुबानको उच्च जोखिममा रहेको सुस्तालाई जोगाउन करिब १४ करोड रूपैयाँ लागतमा नारायणी नदी किनारमा तटबन्ध निर्माण भइरहेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार संसदमा सम्बोधनका क्रममा नेपालले पनि केही ठाउँमा भारतीय भूमि मिचेको बताएका थिए । प्रधानमन्त्रीको विवादित अभिव्यक्तिपछि सुस्तामा एसएसबीको टोली प्रवेश गरेको स्थानीयले बताए ।
नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी दीपक नेपालका अनुसार नेपाली भू-भागमै नयाँ ठेक्काअन्तर्गत तटबन्ध निर्माण गर्ने विषयमा भारतीयपक्षले आपत्ति जनाएको हो । निर्माणाधीन तटबन्धनजिकै नयाँ ठेक्काअन्तर्गत तटबन्ध निर्माणको प्रक्रिया अघि बढाउँदा भारतीयपक्षले रोक्न भनेको जानकारी प्राप्त भएको उनले बताए ।
‘निर्माणस्थलमा आएर नयाँ ठेक्काअन्तर्गतको कामबारे भारतीयपक्षले अवरोध गरेको जानकारी आएको छ,’ प्रमुख जिल्ला अधिकारी नेपालले भने, ‘अहिले निर्माणको काम भइरहेको १ किलोमिटर क्षेत्रमा अवरोध भएको होइन।’




प्रतिक्रिया