काठमाडौं-पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महरालाई विशेष अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले थुनछेक बहसपछि महरासँग १ लाख धरौटी माग्ने आदेश दिएको हो ।
विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरासहित भन्सार अधिकृतहरूसित ७ करोड ७८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
२०७९ पुस १० गते फ्लाई दुबईमार्फत काठमाडौँ आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेशभित्र ७३ बट्टामा ७३० थान भेप ल्याएका थिए।
उक्त भेपमा सुन लुकाएर सुन ल्याइएको थियो। तर सुन भन्सारका नासु रेवन्त खड्का लगायतले मिलेमतो गरेर बेचेका थिए।
भन्सारमा आफ्ना सामान रोकिएपछि बाबु कृष्णबहादुर र छोरा राहुलले भन्सारमा दबाब दिएको आरोप छ। उनका छोरा राहुल महरा यही मुद्दामा कारागार चलान भएका छन्।
यसअघि सीआईबीले पनि महराका बाबु छोरालाई नै प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो। कृष्णबहादुर महरा उक्त मुद्दामा २० लाख धरौटीमा रिहा भएका थिए।




प्रतिक्रिया