अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्तिको पुस्ट्याइँ नगरेसम्म संसद् चल्न दिँदैनौँ: गुरु बराल

प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्तिको पुस्ट्याइँ नगरेसम्म संसद् चल्न दिँदैनौँ: गुरु बराल


काठमाडौँ-नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमासम्बन्धी प्रतिनिधि सभामा दिएको अभिव्यक्तिको पुस्ट्याइँ नगरेसम्म संसद् बैठक चल्न नदिने बताएको छ। मंगलबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सांसद गुरु बरालले यस्तो बताएका हुन्।

प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो अभिव्यक्तिको पुस्ट्याइँ गर्नुपर्ने वा उक्त अभिव्यक्ति फिर्ता लिनुपर्ने उनले बताए। प्रधानमन्त्री शाहको प्रतीक्षामा बसेकै कारण संसद् बैठक बस्न ढिलाइ भएको उल्लेख गर्दै उनले सभामुख डोल प्रसाद अर्याललाई समेत जबरजस्ती संसद् बैठकको कारबाही अगाडि नबढाउन आग्रह गरे। बरालले पछिल्लो घटनाक्रमले स्वदेश मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको छवि प्रभावित भएको दाबी गरे।

सांसद बरालले भने, ‘प्रधानमन्त्रीज्यू संसद्मा आएर आफूले दिएको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति या त पुस्ट्याइँ गर्नुस् नभए फिर्ता गर्नुस् भनेर प्रस्ट रूपमा हाम्रो दुई वटा कुरा थियो। आज पनि प्रधानमन्त्री आउनु भएन। हामीले दुई घण्टा प्रधानमन्त्रीको प्रतीक्षा गर्‍यौँ। तर उहाँ आउनु भएन। सभामुखले जबरजस्ती रूपमा अगाडि लैजाने कोसिस गर्नुभयो। जबसम्म प्रधानमन्त्रीको स्पष्ट जवाफ आउँदैन तबसम्म संसद् अगाडि बढाउन दिँदैनौँ भन्ने हाम्रो पूर्ववत अडानलाई हामीले कायम राख्यौँ।’

नेपालको हित र प्रतिष्ठा जोगाउन आफूहरू सचेत रहेको भन्दै बरालले प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो धारणा स्पष्ट नगरेसम्म एमालेले संसद् अगाडि बढ्न नदिने चेतावनी दिएका छन्। उनले भने, ‘आज यो अवस्थाले स्वदेशमा मात्र नभई विदेशमा समेत नेपालको ठुलो बदनामी भएको छ। भारतमै पनि नेपालले मिचेको भूमिको हिसाब निकालेर मिथ्या सूचना सार्वजनिक भएको छ। बेलायतले हामी नेपाल र भारतको सीमा विवादमा हाम्रो कुनै सम्बन्ध रहँदैन भनेर प्रस्ट रूपमा अफ्नो प्रतिक्रिया जनाइसकेको छ। प्रधानमन्त्रीले बेलायतलाई समेत सामेल गराएर सीमा समस्या समाधान गर्छौँ भनेर दिएको अभिव्यक्तिले नेपाललाई झनै गम्भीर बनाएको छ। हामी यो सबै कुराहरुबाट नेपाललाई बचाउन चाहान्छौँ। जहिलेसम्म प्रधानमन्त्रीले हाउसमा आफ्नो कुरा राख्नुहुन्न तबसम्म नेकपा एमालेले संसद् चल्न दिँदैनौँ।’