अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखको भूमिकामाथि शंकर पोखरेलको प्रश्न, संसदीय समितिमार्फत छानबिनको माग

सभामुखको भूमिकामाथि शंकर पोखरेलको प्रश्न, संसदीय समितिमार्फत छानबिनको माग


काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभामा देखिएको असामान्य परिस्थितिको छानबिन प्रशासनिक तहबाट नभई संसदीय समितिमार्फत हुनुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत मङ्गलबार धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले प्रतिनिधि सभा नियमावलीको पालना स्वयं सभामुखबाट नभएको र प्रतिपक्षी दलहरूलाई विश्वासमा नलिई एकपक्षीय रूपमा बैठक सञ्चालन गर्ने प्रयास गरिएकाले समस्या उत्पन्न भएको बताएका हुन्।

सोमबार मात्रै  सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठकमा अमर्यादित गतिविधि देखाउने सांसदहरूमाथि छानबिन गर्न प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका थिए।

महासचिव पोखरेलले सभामुखबाट भएको नियमावली उल्लङ्घन र प्रतिपक्षी दलहरूको उपेक्षाका कारण सिर्जित परिस्थितिलाई बेवास्ता गर्दै सभामुखकै मातहतका कर्मचारीहरूबाट गरिने प्रशासनिक छानबिनले संसद्लाई मर्यादित, निष्पक्ष र सहमतिका आधारमा सञ्चालन गर्ने वातावरण बनाउन नसक्ने जिकिर गरेका छन्।

महासचिव पोखरेलले संसद्मा उत्पन्न भएको विवाद समाधानका लागि सबै पक्षको विश्वास जित्ने गरी संसदीय संयन्त्रमार्फत छानबिन हुनुपर्ने आवश्यकता औँल्याएका छन्। साथै, यस विषयमा सभामुख र प्रतिनिधि सभाको गम्भीर ध्यान जान आवश्यक रहेको उल्लेख गरेका छन्।

सभामुखले संसद्लाई मर्यादित र प्रभावकारी रूपमा सञ्चालन गर्न सबै राजनीतिक दलहरूको विश्वास कायम राख्नुपर्नेमा जोड दिँदै पोखरेलले लेखेका छन्, ‘अपमानित हुँदा सज्जन मानिस पनि क्रोधित हुन सक्छ।’