काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफ्नो पार्टीका नेता–कार्यकर्ताको सम्पत्ति विवरण छानबिन गर्न थालेको भन्दै आपत्ति जनाएका छन्।
एमाले केन्द्रीय संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशाला कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले अनावश्यक रूपमा सम्पत्ति विवरण खोज्न थालेको आरोप लगाए।
अध्यक्ष ओलीले विगतमा आफ्नो घर आगलागीबाट नष्ट भएको प्रसंग उल्लेख गर्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे।
आफ्नो सम्पत्ति खरानी भइसकेकाले विवरण नभर्ने पनि अध्यक्ष ओलीले बताए । ‘भएको एउटा घर खरानी पारेर फेरि सम्पत्ति विवरण चाहियो ? मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले,’ अध्यक्ष ओलीले भने, ‘सम्पत्ति विवरण फेरि चाहियो ? आगो लगाएर पुगेन, सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार । के को सम्पत्ति विवरण ?।’
अध्यक्ष ओलीले सरकारले जनताका वास्तविक समस्या समाधान गर्नुभन्दा राजनीतिक प्रतिशोधको भावनाबाट प्रेरित भएर विपक्षी दलका नेता तथा कार्यकर्तामाथि निगरानी र छानबिनको अभियान चलाएको आरोप समेत लगाए।
अध्यक्ष ओलीले राज्यका निकायहरूलाई निष्पक्ष र कानुनसम्मत ढंगले सञ्चालन गर्नुपर्ने भन्दै राजनीतिक आग्रह–पूर्वाग्रहका आधारमा गरिने गतिविधिले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने दाबी गरे।




प्रतिक्रिया