काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालले भारतको एक इन्च भूमि पनि नमिचेको दाबी गर्दै प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति असत्य र राष्ट्रहितविपरीत रहेको बताएका छन्।
बुधबार पार्टीको केन्द्रीय संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीले संसदको रोस्ट्रमबाट बोल्न नहुने विषय बोलेको आरोप लगाए।
अध्यक्ष ओलीले नेपालले भारतको कुनै पनि भूभाग नमिचेको स्पष्ट पार्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा आपत्ति जनाए।
‘एक ठाउँमा एक इन्च पनि भारतको जमिन नेपालले मिचेको छैन,’ अध्यक्ष ओलीले भने, ‘सम्पूर्ण रूपमा असत्य, झुट र राष्ट्रघाती वचन प्रधानमन्त्रीले संसदको रोस्ट्रमबाट बोल्नु हुँदैन थियो। तर बोल्ने काम भयो।’
अध्यक्ष ओलीले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय हितमाथि आघात पुगेको दाबी गर्दै यस्तो अभिव्यक्ति कसको हित र कुन उद्देश्यका लागि दिइएको हो भन्ने प्रश्नसमेत उठाए।
“कसको हितका लागि ? कसको पक्षमा ? नेपालको अहितमा, नेपालको विपक्षमा यत्रो देशद्रोही कुरा कसका लागि र केका लागि बोलियो ?” उनले प्रश्न गरे।
प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर संसदभित्र र बाहिर राजनीतिक दलहरूबीच बहस जारी रहेका बेला ओलीले सरकारको कडा आलोचना गरेका हुन्।




प्रतिक्रिया