काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी अप्ठ्यारो अवस्थामा रहेको भन्दै तत्काल नेतृत्व नछाड्ने स्पष्ट पारेका छन्।
बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अनुकूल अवस्था हुँदा मात्रै नेतृत्वमा रहने र कठिन परिस्थितिमा जिम्मेवारीबाट पन्छिने प्रवृत्ति आफूलाई स्वीकार्य नभएको बताए।
अध्यक्ष ओलीले भने, ‘अनुकूल वातावरण बन्यो भने, प्रधानमन्त्री खान पाइने भो भने कस्सिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर भागिहाल्नु भनेर होइन। त्यसका निम्ति होइन।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफूलाई पार्टी अध्यक्षका रूपमा चुनिनुको उद्देश्य नै कठिन परिस्थितिमा पार्टी र संघर्षको नेतृत्व गर्नु रहेको दाबी गरे। अध्यक्ष ओलीले पार्टी नेतृत्व भनेको सजिलो अवस्थाको अवसर मात्र नभई संघर्षको नेतृत्व पनि भएको बताए।
अध्यक्ष ओलीले भने, ‘जस्तोसुकै परिस्थिति आए पनि पार्टीको नेतृत्व गर्नु भनेको संघर्षको नेतृत्व गर्नु हो। अप्ठ्यारो अवस्था आएकै छ, त्यसको सामना गर्न तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको हो।’
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहेका ओलीले कठिन परिस्थितिमा जिम्मेवारीबाट भाग्ने सोच आफूमा नरहेको स्पष्ट पारे।
अध्यक्ष ओलीले कार्यकर्तालाई आफूले बीचमै नेतृत्व नछोड्ने विषयमा अनावश्यक चिन्ता नगर्न आग्रह गर्दै भने, ‘मैले बीचमै झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने आशंका मनमा नलिनुहोला। म अप्ठ्यारो परिस्थितिसँग जुधेर, पार्टीलाई अगाडि बढाएर सफलतामा पुर्याएर अनि विश्राम लिनुपर्ने अवस्था आयो भने पार्टीका विधान, विधि र प्रक्रियाअनुसार विश्राम लिने स्थिति बन्छ।’




प्रतिक्रिया