काठमाडौँ– नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र संसदीय प्रणालीका आफूहरू केवल उपभोक्ता नभई निर्माता समेत भएको दाबी गरेका छन्।
बिहीबार पत्रकारहरूसँग कुरा गर्दै प्रमुख सचेतक महरले एमालेसहितका विपक्षी दलहरू व्यवस्था उपभोग गर्न मात्र नभई यसको संरक्षण, सुदृढीकरण र जनविश्वास कायम गर्न जिम्मेवार रहेको स्पष्ट पारे। ‘हामी यो व्यवस्था उपभोग गर्न आएका उपभोक्ता मात्र होइनौँ, हामी यसका निर्माता हौँ,’ उनले भने।
उनका अनुसार संसदीय व्यवस्थामार्फत नेपालको आमूल परिवर्तन र समाजवादतर्फको यात्रा अघि बढाउनुपर्ने जिम्मेवारी विपक्षी दलको पनि रहेको छ। उनले आफूहरू जिम्मेवार, सचेत र संवेदनशील प्रतिपक्षको भूमिकामा रहेको बताए।
नेकपा एमालेसहितका विपक्षी दलहरूले संसद्मा विरोधका लागि मात्रै विरोध नगरेको उनको भनाइ थियो। तर वर्तमान परिस्थितिका कारण बाध्यतावश संसद् अवरोध गर्नु परेको उनले स्पष्ट पारे। संसद् जनताका आवाज उठाउने र सरकारलाई उत्तरदायी बनाउने संस्था भएकाले यसको अवरोध उचित नभए पनि बाध्यताले यस्तो कदम चाल्नुपरेको उनले बताए।
प्रमुख सचेतक महरले सरकार र सभामुखको भूमिकाप्रति कडा असन्तुष्टि जनाउँदै सरकारमा सर्वसत्तावादी प्रवृत्ति बढेको आरोप लगाए। बहुमतका आधारमा संविधान, कानुन र संसदीय अभ्यासको बेवास्ता भइरहेको उनको दाबी छ।
प्रधानमन्त्रीको संसदीय आचरणप्रति समेत उनले गम्भीर आपत्ति जनाउँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा देखिएको व्यवहार असंसदीय रहेको आरोप लगाए। साथै प्रधानमन्त्री संसद्मा “सिंघम शैली” मा प्रस्तुत हुने गरेको टिप्पणी गर्दै उनले संसद्प्रति उपेक्षापूर्ण व्यवहार भइरहेको दाबी गरे।
सभामुख सत्तापक्षको “रक्षाकवच” बनेको आरोप लगाउँदै उनले नियमावलीअनुसारको संसदीय प्रक्रिया पालना नभएको जिकिर गरे। यसले संसद्को गरिमा र मर्यादामा आँच पुगेको उनको भनाइ थियो।
त्यस्तै, प्रधानमन्त्रीले संसद्मा नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको विषयलाई उनले “राष्ट्रघाती” भन्दै कडा आलोचना गरे। उक्त अभिव्यक्ति फिर्ता लिनुपर्ने र संसदीय अभिलेखबाट हटाइनुपर्ने उनको माग छ।
महरले उक्त विषयको समाधान नभएसम्म संसद्का कामकारबाही अघि बढाउनु उपयुक्त नहुने चेतावनी दिएका छन्। साथै, संसद् स्थगित रहेको अवधिमा संसदीय समितिमा पनि एमाले सांसदहरू सहभागी नहुने उनले जानकारी दिए।




प्रतिक्रिया