काठमाडौँ-मुस्ताङको कोरोला नाकाबाट भन्सार छली गरेर नेपाल भित्र्याइएको आशंकामा सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएका ७७५ वटा विद्युतीय सवारीसाधन (ईभी) अझै विभिन्न स्थानमा निगरानीमा राखिएको छ। तीमध्ये ९६ वटा गाडी कास्कीको पोखरा महानगरपालिका–२५ स्थित सुइखेतमा सुरक्षित रूपमा राखिएको छ।
सशस्त्र प्रहरी बलको विशेष टोलीले जेठ २८ गते मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जालगायत विभिन्न स्थानमा संयुक्त अपरेसन सञ्चालन गरी ती गाडीहरू नियन्त्रणमा लिएको थियो।
विशेष सूचनाका आधारमा कोरोला नाका हुँदै ठूलो परिमाणमा विद्युतीय सवारीसाधन भन्सार प्रक्रिया पूरा नगरी नेपाल भित्र्याइएको आशंका भएपछि सशस्त्र प्रहरीले अनुसन्धानात्मक कारबाही अघि बढाएको हो। अपरेसनका क्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत तथा नं. २४ कालिका गण कास्कीबाट विशेष टोली परिचालन गरिएको थियो।
सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनहरू नाकादेखि पोखरासम्मका विभिन्न स्थानमा कडा निगरानीका साथ राखिएका छन्। पोखरा–२५ सुइखेतमा ९६ वटा ईभी राखिएको छ भने बाँकी गाडीहरू अन्य सुरक्षित स्थानमा संरक्षण गरी राखिएको जनाइएको छ।
घटनाबारे सरकारले छानबिन समिति गठन गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ। नियन्त्रणमा लिइएका सवारीसाधन वैधानिक रूपमा आयात गरिएका हुन् वा भन्सार छली गरेर नेपाल भित्र्याइएका हुन् भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।
छानबिनको निष्कर्षपछि कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ।







प्रतिक्रिया