काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतसँगको सीमा सम्बन्धी विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन्।
पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग सभापति लामिछानेले सीमा समस्या संवेदनशील विषय भएकाले यसलाई कूटनीतिक संवादमार्फत अघि बढाउनुपर्ने बताए।
‘कुनै पनि विषय कूटनीतिको माध्यमबाट, डिप्लोमेटिक च्यानल एक्टिभ गराएर गरिने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ। तीनको आवाज हल्ला गरेजस्तो ढोल बजाएर हुँदैन,’सभापति लामिछानेले भने, ‘ढोल नबजाइ आफ्नो देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ।’
साथै, राष्ट्रियताको विषयलाई प्रचार–प्रसार वा प्रदर्शनको माध्यम नबनाई जिम्मेवार ढंगले सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए।
कूटनीतिको विषयलाई जिम्मेवार र संवेदनशील ढंगबाट बुझ्न पनि उनले आग्रह गरे। उठाउने विषय र राजनीतिक दलले उठाउने संवेदनशीलता फरक हुने र चरणबद्ध हुने उनले उल्लेख गरे ।
‘कूटनीतिको विषय देशको सबैभन्दा धेरै जनाले पतयाएको राजनीतिक दलका रुपमा त्यसले उठाउने विषय त्यसका जिम्मेवारी र संवेदनशीलता बुझ्न सकिएन भने कूटनीतिमा त्यसको धेरै महत्व हुँदैन,’ उनले भने ।
लोकप्रियताका लागि सजिलो हुने भए पनि कूटनीति चाहिँ फरक विषय रहेको उनको भनाइ छ।
‘लोकप्रियताका लागि सजिलो हुन्छ, तर समस्या समाधान गर्न त्यसको चरण हुन्छ। कूटनीतिका पनि चरण हुन्छ । त्यसका चरणमा सहि ठाउँमा त्यस्ता कुरा राख्न नेपालले हिजो पनि राख्थ्यो आज पनि राख्छ,’ उनले भने।




प्रतिक्रिया