अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ

घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ


काठमाडौँ- काठमाडौँको तारकेश्वर नगरपालिका-६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । 

‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीयकुमार थापाले आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

शुक्रबार राति करिब १०:१० बजे भएको घटनामा गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

रड प्रहार गर्ने कुमार थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

नेपाली ब्रो’ भनिने कुमार आफूलाई रेस्लर र फाइटरका रुपमा पनि चिनाउने गर्दछन्। ईश्वरी सैनिक सेवामा थिइन् । उनीहरूबीच सम्बन्ध बिच्छेदको तयारी थियो । शुक्रबार बेलुकी ईश्वरी कामबाट फर्किने समय मिलाएर कुमार बाटो ढुकेर बसेका थिए। एसपी भट्टराईका अनुसार ईश्वरी घर अगाडि पुग्नासाथ रडले हानेर घाइते बनाएका थिए ।

उनलाई प्रत्यक्षदर्शीले तत्कालै स्थानीय तारकेश्वर अस्पतालमा लगेका थिए । अत्यधिक रक्तस्राव भएपछि थप उपचारका निम्ति शिक्षण अस्पताल लगिएको हो । त्यहाँको इमर्जेन्सी वार्डमा उपचारका क्रममा चिकित्सकले मृत घोषित गरेका हुन् । कुमारलाई शुक्रबार राति बालाजुबाट पक्राउ गरिएको एसपी भट्टराईले बताए । उनी जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा छन् ।