अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा सिन्धुलीको सभापतिमा बस्नेत, सचिवमा देवकोटा निर्वाचित

रास्वपा सिन्धुलीको सभापतिमा बस्नेत, सचिवमा देवकोटा निर्वाचित


सिन्धुली-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुलीको प्रथम जिल्ला अधिवेशनबाट अविनाश बस्नेत जिल्ला सभापतिमा निर्वाचित भएका छन्। अधिवेशनमा सहमति जुट्न नसकेपछि सभापतिसहित पदाधिकारी तथा केही सदस्य पदका लागि निर्वाचन भएको थियो।

शनिबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार बस्नेतले १८१ मत प्राप्त गर्दै सभापतिमा विजयी हासिल गरे। उनका निकटतम प्रतिद्वन्द्वी वृखबहादुर बम्जन (अशोक)ले ८८ मत प्राप्त गरे भने कर्णबहादुर कार्कीले ४ मत पाए।

उपसभापति पदमा रामचन्द्र अधिकारी १०३ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी सागर खत्रीले ९२ मत तथा दिलीपजंग थापाले ६६ मत प्राप्त गरेका थिए।

सचिव पदमा लालप्रसाद देवकोटा (एलपी) १८६ मतसहित विजयी भए। उनका प्रतिद्वन्द्वी रोमबहादुर देवकोटा (सुवास)ले ७१ मत प्राप्त गरे। सहसचिव पदमा दिनेशप्रसाद सापकोटा (मोटु) १३० मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी रमेश खत्रीले ११६ मत प्राप्त गरे।

खुला सदस्यमा दिवस पहाडी तथा दलित सदस्यमा कुमार रसाइली निर्वाचित भएका छन्। महिला सदस्यतर्फ सूर्यकुमारी गौतम र सुनिता गजुरेल निर्विरोध निर्वाचित भएका थिए।

पार्टी विधानअनुसार सभापति पदमा पराजित भए पनि धेरै मत प्राप्त गरेका वृखबहादुर बम्जन (अशोक) जिल्ला समिति सदस्य बनेका छन्। अन्य दुई सदस्य भने जिल्ला समितिको पहिलो बैठकबाट मनोनयन गरिने जनाइएको छ।

त्यसैगरी, क्षेत्र नम्बर १ को संयोजकमा मनिष कार्की र क्षेत्र नम्बर २ को संयोजकमा कैलाश थापा निर्वाचित भएका छन्।

२७४ प्रतिनिधिले मतदान गरेको अधिवेशनबाट रास्वपा सिन्धुलीले नयाँ जिल्ला नेतृत्व चयन गरेको हो। नवनिर्वाचित नेतृत्वले पार्टी संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा आगामी राजनीतिक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।