सिरहा–धनुषा जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कमला पुल १५ वर्षदेखि निर्माण सम्पन्न हुन नसकेपछि फेरि एकपटक चर्चा र विवादको केन्द्र बनेको छ।
अधुरो अवस्थामा रहेको उक्त पुलको पछिल्लो अवस्थाबारे जानकारी लिन पूर्वाधार विकासमन्त्री सुनील लम्सालले स्थलगत निरीक्षण गरेका छन्।
पूर्वी मधेसका विभिन्न जिल्लामा सञ्चालित विकास आयोजनाहरूको अनुगमन गर्ने क्रममा मन्त्री लम्साल नेतृत्वको टोलीले कमला पुलको अवलोकन गरेको हो। यस अवधिमा करिब १५ वर्षमा १८ जना मन्त्रीहरूले पुलको निरीक्षण गरिसकेको भए पनि निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन।
लामो समयदेखि अलपत्र परियोजनाका कारण स्थानीयवासीले सास्ती भोग्दै आएका छन्। मन्त्रीको पछिल्लो निरीक्षणका क्रममा स्थानीयले स्पष्ट कार्ययोजना सार्वजनिक नगरेको भन्दै विरोध समेत जनाएका छन्।
निरीक्षणपछि मन्त्री लम्सालले कमला पुलको निर्माण कार्य अब कुनै बहानामा नरोकिने प्रतिबद्धता जनाएका छन्। उनले समयमै आयोजना सम्पन्न गर्न मन्त्रालयले आवश्यक सहजीकरण र प्रभावकारी अनुगमनलाई प्राथमिकतामा राखेको बताए।
टोलीले यस क्रममा काँकडभिट्टा–लौकही सडक आयोजनाका विभिन्न खण्ड तथा सप्तरीको कञ्चनपुरदेखि सिराहाको कमलासम्म करिब ८७ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने कार्यको प्रगति पनि अवलोकन गरेको छ।
त्यस्तै, एशियाली विकास बैंक र विश्व बैंकको लगानीमा सञ्चालित विभिन्न पूर्वाधार परियोजनाहरूको समेत निरीक्षण गरिएको छ।
यसअघि पनि मन्त्री लम्सालले बुटवल–नारायणगढ–नागढुंगा सडकखण्ड लगायतका ठूला आयोजनाको अनुगमन गर्दै समयमै काम सम्पन्न गर्न निर्देशन दिँदै आएका छन्।




प्रतिक्रिया