अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाको महोत्तरी जिल्ला अधिवेशन स्थगित, धनुषामा पनि विवाद चर्किँदै

रास्वपाको महोत्तरी जिल्ला अधिवेशन स्थगित, धनुषामा पनि विवाद चर्किँदै


जनकपुरधामराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महोत्तरी जिल्ला अधिवेशन आन्तरिक विवादका कारण अनिश्चितकालका लागि स्थगित गरिएको छ। जलेश्वरमा हिजो शनिबारबाट सुरु भएको अधिवेशनको दोस्रो दिनसम्म पनि दुई पक्षबीच सहमति जुट्न नसकेपछि अधिवेश अनिश्चितकालका लागि स्थगित गरिएको हो।

विवाद समाधानका लागि विभिन्न चरणमा छलफल भए पनि सहमति नजुटेपछि अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको निर्वाचन संयोजक मनिषकुमार साहले जानकारी दिए। उनका अनुसार जिल्लाका प्रतिनिधिहरूसँगको परामर्श र शान्ति–सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै अधिवेशन स्थगित गर्ने निर्णय गरिएको हो। उक्त निर्णयमा केन्द्रीय सदस्य डा. नन्दन यादव, देवनारायण महतो, प्रतिनिधिसभा सदस्य प्रमोद महतो, निर्वाचन समिति सदस्य महेश पुर्वे, पूजा झाललगायत नेताहरूको सहमति रहेको बताइएको छ।

धनुषामा पनि विवाद उस्तै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषामा नगर अधिवेशनको विषयलाई लिएर उत्पन्न आन्तरिक विवाद चर्किएको छ। गणेशमान चारनाथ नगरपालिकाको नगर अधिवेशनका क्रममा देखिएको विवाद समाधान नभएको भन्दै असन्तुष्ट कार्यकर्ताले जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्। रास्वपाभित्रको आन्तरिक विवाद अझै समाधान हुन सकेको छैन।

जिल्ला सभापति लक्ष्मेश्वर यादवमाथि मनोमानी ढंगले पार्टी सञ्चालन गरेको आरोप लगाउँदै असन्तुष्ट समूहले शनिबार रातिदेखि पार्टी कार्यालयमा तालाबन्दी गरेको छ।

यसअघि धनुषाका पाँच पालिकाको अधिवेशनका क्रममा समेत विवाद चर्किँदा कार्यकर्ताबीच हातहालाहालको अवस्था सिर्जना भएको थियो।