काठमाडौं-काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएपछि घटस्थापनादेखि ६ स्थानबाट ग्यास बिक्री गरिने भएको छ। ग्यासको आपूर्ति सहज बनाउने उद्देश्यले असोज २५ देखि ३१ गतेसम्म विशेष व्यवस्था गरी ग्यास बिक्री गर्न लागिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ।
संघका अध्यक्ष दिवान चन्दले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमको समन्वय तथा ग्यास बिक्रेता महासंघको सहकार्यमा उपत्यकाका ६ स्थानबाट ग्यास बिक्री गर्न लागिएको जानकारी दिएका छन्।
संघका अनुसार काठमाडौंको सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम ग्यास, पेप्सीकोलाबाट सगर ग्यास तथा बालाजु औद्योगिक क्षेत्रको गेट अगाडिबाट नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास बिक्री गरिनेछ।
त्यस्तै, सुकेधाराबाट बाबा र श्री ग्यास, कलंकीबाट साइबाबा र श्रीकृष्ण ग्यास तथा ललितपुरको हरिसिद्धिबाट श्रीराम ग्यास बिक्री गरिने संघले जनाएको छ।
यी सबै स्थानबाट बिहान ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म ग्यास बिक्री गरिनेछ। बिक्री केन्द्रहरूमा ग्यासका सिलिन्डर साटफेर गर्ने व्यवस्था पनि मिलाइएको अध्यक्ष चन्दले जानकारी दिएका छन्।
ग्यास अभावका कारण उपभोक्ताले भोग्नुपरेको समस्यालाई कम गर्दै आपूर्ति सहज बनाउन यो व्यवस्था गरिएको संघले जनाएको छ।




प्रतिक्रिया