काठमाडौं-नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित भएका छन्। सभापति पदका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई भारी मतान्तरले पराजित गर्दै थापा पार्टीको नेतृत्वमा पुगेका हुन्।
काठमाडौंस्थित राष्ट्रिय सभागृहमा मतगणनाको नतिजाअनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्गीले ३७५ मत मात्रै पाएका छन्। थापाले आफ्ना प्रतिस्पर्धी खड्गीलाई ६ हजार २०९ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।
सभापति पदको निर्वाचनमा कुल ७ हजार ३९ मत खसेको थियो। तीमध्ये ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। खसेको कुल मतका आधारमा थापाले करिब ९३.८८ प्रतिशत र खड्गीले ५.३५ प्रतिशत मत प्राप्त गरेका छन्।
यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थापा पार्टीभित्र नेतृत्व परिवर्तन, संगठनात्मक सुधार र पुस्तान्तरणको पक्षमा सक्रिय रहँदै आएका थिए। तत्कालीन महामन्त्री थापासहितका नेताहरूको पहलमा सम्पन्न विशेष महाधिवेशनले उनलाई सभापतिमा चयन गरेको थियो।
विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि कांग्रेसभित्र पार्टीको वैधानिकता, संगठनात्मक संरचना र नेतृत्वसम्बन्धी विषयमा बहस उत्पन्न भएको थियो। त्यसपछि सम्पन्न १५औँ महाधिवेशनको निर्वाचनबाट थापा सभापतिमा निर्वाचित भएका हुन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापतिसहित केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि मतदान भएको थियो। महाधिवेशनमा ७ हजार ३१७ प्रतिनिधि रहेकामा ७ हजार ३९ जनाले मतदानमा सहभागिता जनाएका थिए। केन्द्रीय कार्यसमितिका २३१ पदका लागि ८११ जनाले उम्मेदवारी दिएका थिए।
सभापतिको नतिजा सार्वजनिक भइसके पनि केन्द्रीय कार्यसमितिका अन्य पदको मतगणना जारी रहेको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतिमा पुष्पा भुसाल तथा काठमाडौं उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान शाक्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।



प्रतिक्रिया