अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैन: आईजीपी कार्की

देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैन: आईजीपी कार्की


काठमाडौँ-प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको बताएका छन्। 

राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भएको बोल्दै आईजीपी कार्कीले उक्त जानकारी दिएका हुन्।

जीर्ण रहेका प्रहरी चौकीहरूको पुनर्निर्माणका लागि आवश्यक बजेट नभएको उनले स्पष्ट पारे।

महानिरीक्षक कार्कीले सीमावर्ती तथा संवेदनशील क्षेत्रका कतिपय प्रहरी चौकीहरू भत्किने अवस्थामा पुगेको उल्लेख गर्दै प्रहरी कर्मचारीहरू जोखिमपूर्ण संरचनामा काम गर्न बाध्य रहेको बताए। चौकी नै लडेर कुनै पनि बेला दुर्घटना होला कि भन्ने चिन्ता रहेको उनको भनाइ छ। 

अस्थायी चौकीहरूको कति जीर्ण छन् भन्ने यकिन हिसाब नै नरहेको उनले बताए। संघीय मामिला तथा स्थानीय तहको समन्वयमा जीर्ण चौकीहरूको निर्माण हुनसके प्रहरी कर्मचारीहरूले ड्युटीपछि न्युनतम मानवीय सुविधा पाउने अवस्था सिर्जना हुने उनको भनाई छ।

उनले भने, ‘अहिले सिमावर्ती क्षेत्रका र संबेदनशिल ठाउँका चौकीहरु पनि भत्किने जीर्ण अवस्थाका छन्। चौकी नै लडेर केही होला कि भन्ने चिन्ता गर्नु पर्ने अवस्थाका छन्। हामीले अहिले २६३ वटा जीर्ण स्थायी चौकीहरुको जीर्ण भएका छन्, अस्थायीको त हिसावै भएन। जीर्ण भएका चौकीहरुको संघीय मामिला अन्तर्गत स्थानीय तहबाटै बन्ने स्थिति सिर्जना भइदियो भने हाम्रा मान्छेहरु दिनभर ड्युटी गरेपछि बेलुकी एकछिन आम नागरिक जस्तै मानवीय रुपमा स्वभाविक किसिमले बस्न पाउँछन् की भन्ने अपेक्षा छ।’  

आईजीपी कार्कीले अस्थायी प्रहरी चौकी माग भएका स्थानमा प्रहरीले संवेदनशीलतापूर्वक काम गरिरहेको जानकारी दिए। अत्यावश्यक स्थानहरूमा तत्काल प्रहरी परिचालन गर्ने गरिएको उनको भनाई छ। 

Skip This